२० करोड रुपैयाँ असुली प्रकरणमा साक्षीका रूपमा बलिउड अभिनेत्री नोरा फतेहीलाई बोलाइयो अदालत

616 Shares

काठमाडौं– बलिउड अभिनेत्री नोरा फतेही फेरि एकपटक २० करोड भारतीय रुपैयाँको ठगी प्रकरणका कारण चर्चामा आएकी छन् । सुकेश चन्द्रशेखरसँग जोडिएको ठगी तथा सम्पत्ति शुद्धीकरण मुद्दामा दिल्लीको अदालतले उनलाई समन जारी गरेको छ । 

अदालतले आगामी नोभेम्बर २ मा उपस्थित हुन आदेश दिँदै सरकारी साक्षीका रूपमा उनको बयान अभिलेख गर्ने जनाएको छ ।

प्रवर्तन निर्देशनालय (ईडी) ले दायर गरेको तेस्रो पूरक आरोपपत्रका आधारमा अदालतले यस्तो आदेश दिएको हो। यो प्रकरण जेलभित्रै बसेर सुकेशले रेनबैक्सीका पूर्वप्रवर्द्धक शिविन्दर मोहन सिंहकी पत्नी अदिति सिंहसँग करिब २० करोड रुपैयाँ ठगी गरेको आरोपसँग सम्बन्धित छ । 

आफूलाई भारत सरकारको उच्चपदस्थ अधिकारी भन्दै सुकेशले शिविन्दरलाई जेलबाट छुटाइदिने आश्वासन दिएर अदितिसँग रकम असुलेको अनुसन्धानमा खुलेको दाबी छ।

यही ठगीबाट प्राप्त रकमबाट नोरा फतेहीले महँगा उपहार लिएको आरोप अनुसन्धान निकायले लगाएको छ। सुकेश वा उनका सहयोगीले उनलाई विलासी कार, महँगा ब्याग र गरगहनासमेत दिएको दाबी छ । 

यसअघि ईडीसँगको बयानमा नोराले एक करोड रुपैयाँभन्दा बढी मूल्यको कार उपहार पाएको स्वीकार गरेकी थिइन्। सन् २०२० मा चेन्नईमा आयोजित एक कार्यक्रममा उक्त कार आफूलाई दिइएको उनको भनाइ थियो।

यद्यपि, नोराले आफू कुनै पनि गैरकानुनी गतिविधिमा संलग्न नरहेको र यस प्रकरणमा आफैँ पीडित भएको दाबी गर्दै आएकी छन्। यसै मुद्दामा अर्की बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिस पनि आरोपित छिन्। सुकेशले उनीसँगको सम्बन्धपछि ठगीको रकमबाट सात करोड रुपैयाँभन्दा बढी खर्च गरेको र महँगा ब्याग, हिराका गरगहना, घोडा तथा बिरालोलगायतका उपहार दिएको आरोप छ।

अनुसन्धानअनुसार सुकेशले सन् २०२०/२१ मा दिल्लीको रोहिणी जेलभित्रै बसेर आफूलाई सरकारी अधिकारीका रूपमा प्रस्तुत गर्दै ठगी र असुलीको सञ्जाल सञ्चालन गरेका थिए। अहिले यही प्रकरणमा नोरा अदालतमा उपस्थित भएर दिने बयानलाई चासोका साथ हेरिएको छ।

सम्बन्धित समाचार