दशैँ मनाएर काठमाण्डौ फर्कनेको संख्या बढेसँगै मुख्य नाकामा चाप

616 Shares

काठमाण्डौ – दशैँ मनाउन गाउँघर गएकाहरु काठमाण्डौ फर्कनेक्रम बढेको छ ।

विजयादशमीको भोलिपल्टदेखि नै फर्कनेहरुको चाप बढ्न थालेको हो । सरकारी कार्यालय भोलिदेखि खुल्ने भएकाले दशैँ मनाउन गाउँघर गएका धेरैजना आजसम्म फर्किसक्नेछन् ।

गएको ३१ गते शनिवारयता दशैँ बिदा रहेकोमा भोलिदेखि सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थासहित धेरैजसो कार्यालय खुल्नेछन् । सार्वजनिक बिदा आज सकिने भएकाले काठमाण्डौ उपत्यका भित्रिनेक्रम बढेसँगै प्रमुख नाकाहरू कलङ्की, कोटेश्वर, बालाजु तथा भक्तपुरको जगातीमा गाडीको चाप छ ।

विशेषगरी लामो दूरीबाट काठमाण्डौ उपत्यका भित्रिने सार्वजनिक गाडी बस, माइक्रोबस र निजी गाडीबाट आउनेको संख्या धेरै रहेकाले नाकाहरूमा चाप बढेको काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

यात्रुहरूको चाप बढेसँगै उपत्यका ट्राफिक प्रहरी कार्यालयले नाकामा अतिरिक्त जनशक्ति परिचालन गरी ट्राफिक व्यवस्थापन सहज बनाउने प्रयास गरिरहेको जनाएको छ । लामो बिदा मनाएर फर्किने कतिपय यात्रुले भाडामा मनोमानी रहेको तथा सडकमा जामको समस्या खेप्नुपरेको गुनासो गरेका छन् ।

ट्राफिक प्रहरी र यातायात व्यवसायी महासंघले तोकिएको भन्दा धेरै भाडा लिएको गुनासो आए सम्बन्धित गाडीलाई कारवाही गरिने जनाएका छन् । दशैँको अवसरमा यसपाली काठमाण्डौ उपत्यकाबाट सार्वजनिक गाडीमार्फत् झण्डै ८ देखि १० लाखको संख्यामा यात्रु बाहिरिएको अनुमान छ । 

सम्बन्धित समाचार