रवि लामिछाने गड्डाचौकी नाका हुँदै आज भारत प्रस्थान

877 Shares

काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीर्थाटनका क्रममा कञ्चनपुरको गड्डाचौकी नाका हुँदै आज भारत प्रस्थान गर्नुभएको छ ।

सभापति लामिछानेले स्थलमार्ग हुँदै भारतको उत्तराखण्डको नैनीताल जिल्लाको प्रसिद्ध धार्मिकस्थल कैचीधाम (नीम करौली बाबा) को दर्शन गर्ने कार्यक्रम रहेको छ ।

तीन दिने तीर्थाटनका क्रममा उत्तराखण्डको कैचीधामका साथै गुवाहिटीमा रहेको कामाख्या मन्दिरमा पूजार्चना गर्ने कार्यक्रम रहेको रास्वपाका सचिवालय सदस्य एवम् सांसद दीपकराज बोहराले जानकारी दिनुभयो ।

सभापति रविसँगै उहाँकी पत्नी निकिता पौडेल, प्रतिनिधिसभा सदस्य बोहरा भ्रमण टोलीमा हुनुहुन्छ । टोलीलाई गड्डाचौकीमा रहेकाे नेपाल–भारत सीमाबाट भारतीय सुरक्षाकर्मीले सुरक्षा दिएको छ ।

धनगढी विमानस्थलमा पत्रकारसँग कुरा गर्दै सभापति लामिछानेले असाध्यै व्यक्तिगत भ्रमणका क्रममा भारत जान लागेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘पहिलेदेखि नै जाउँला भन्ने थियो । यो धार्मिक भ्रमण हो । कुनै राजनीतिक भेटघाट छैन । कारागारमा हुँदा गरेको भाकल पूरा गर्न जाँदैछु । मेरो भ्रमणका नाममा कसैलाई पनि खिचडी नपकाउन आग्रह गर्दछु ।’

सम्बन्धित समाचार