हिमपहिरोले गेग्य्रान सोहोरेर खोला थुन्दा बुढीगण्डकीमा बाढी

993 Shares

काठमाण्डौ – गएको आइतबार बुढीगण्डकी नदीमा बाढी आएको विषयमा प्राविधिक अध्ययनले ग्लेसियरमा खसेको हिमपहिरोले गेग्य्रान सोहोरेर खोला थुनेपछि आकस्मिक बाढी आएको पुष्टि गरेको छ ।

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले स्थलगत अध्ययन र सेटेलाइट तस्बिर अध्ययन गरेर बाढी आउनुमा एउटै मात्र नभई बहुकारण रहेको जनाएको छ ।

शुरुमा हिमपहिरो ग्लेसियर (हिउँ, बरफ र गेग्य्रान)मा खसेको र उङदिलुङसँगै स्यारखोलाको दोभान थुनेको थियो । त्यसपछि खोला थुनिने र खुल्ने प्रक्रिया भएको देखिन्छ ।

गोरखाको चुमनुब्री गाउँपालिका–६ उङदिलुङ खोला (चामर हिमाल र स्येराङ्दी हिमाल)बिचको ठाडो खोलाको उच्च हिमाली क्षेत्रमा आइतबार बिहान ४ बजेर २० मिनेटमा पहिरो खसेको थियो ।

कमजोर चट्टानबाट झण्डै ६ हजार मिटरको उचाइमा हिमपहिरो तथा झण्डै पाँच हजार पाँच सय मिटरको उचाइमा रहेका ग्लेसियर (हिउँ तथा गेग्य्रान)सहितको ठुलो पहिरो सिर्जना भएको प्रतिवेदनमा भनिएको छ । ठुलो पहिरो अघि तथा त्यसपछि समेत केही साना–साना पहिरो गएको देखिन्छ ।

बाढीले आइतबार बिहान साढे ६ बजे सल्लेरीमा रहेको हाइड्रोपावर क्याम्प बगाएको थियो । ठुलो बाढीका कारण तल्लो क्षेत्रमा विशेषगरी जगतमा केही भवन तथा सोती खोला र बुढीगण्डकीमा रहेका पक्की पुललगायतका संरचनामा मुख्य क्षति पुगेको देखिन्छ ।

अन्य बाढीको तुलनामा यस घटनामा बालुवा र साना–ठूला ढुङ्गाको भन्दा माटोको मात्रा बढी रहेको प्रतिवेदनले देखाएको छ । माटोको मात्रा बढी भएकाले बाढीमा बाक्लो लेदो बिस्तारै बग्ने प्रकृतिको प्रवाह अर्थात् ‘भिस्कस मड फ्लो’को विशेषता देखिएको थियो ।

सम्बन्धित समाचार