मौसम खुलेपछि अन्नपूर्ण यात्रामा पर्यटकको चाप बढ्यो

761 Shares

काठमाण्डौ – मौसममा सुधार आएसँगै विश्वप्रसिद्ध कास्कीको अन्नपूर्ण आधार शिविर (एबिसी) पदयात्रामा जाने पर्यटकको सङ्ख्या बढेको छ ।

अन्नपूर्ण क्षेत्रका विभिन्न ठाउँमा बाढीपहिरोका कारण अवरुद्ध सडक तथा पदमार्ग सञ्चालनमा आएपछि पछिल्लो केही दिनयता एबिसी जाने विदेशी तथा सार्क राष्ट्रका पर्यटकको सङ्ख्या उल्लेख्य रूपमा बढेको पर्यटन व्यवसायीले बताएका छन् ।

छोम्रोङ पर्यटन व्यवस्थापन समितिका सचिव दिलीप गुरुङका अनुसार अहिले दैनिक झण्डै ३०० पर्यटक अन्नपूर्ण आधार शिविर पुगिरहेका छन् । एबिसीमा छ वटा होटल तथा लज सञ्चालनमा छन् भने ती होटलमा एकपटकमा करिब ३५० पर्यटकलाई राख्न सक्ने क्षमता छ ।

उहाँका अनुसार निरन्तरको वर्षा रोकिएर मौसममा सुधार आउनुका साथै मनाङ र मनास्लु क्षेत्रका केही पदयात्रा मार्ग प्रभावित भएपछि पर्यटकको गन्तव्य एबिसीतर्फ मोडिएको हो । यसअघि वर्षा तथा बाढीपहिरोका कारण अन्नपूर्ण क्षेत्रका सडक र पदमार्ग प्रभावित हुँदा पर्यटन व्यवसायमा असर परेको थियो ।

मोदी खोलाको कटानका कारण बिरेठाँटी र स्याउली बजारमा लामो समय सडक अवरुद्ध भएको थियो । गाउँपालिकाले झण्डै डेढ महिना लगाएर असोजको पहिलो हप्ता सडक सञ्चालनमा ल्याएको हो ।

मनाङ र मनास्लु क्षेत्रका कतिपय सडक तथा पदमार्ग पहिरोका कारण प्रभावित भएपछि ती क्षेत्रमा जाने तयारीमा रहेका पर्यटकले वैकल्पिक गन्तव्यका रूपमा एबिसी रोज्न थालेका हुन् ।

छोम्रोङ पर्यटन व्यवस्थापन समितिका सचिव गुरुङले मनाङ, मनास्लु र अन्नपूर्ण क्षेत्रमध्ये एबिसीतर्फको बाटो तुलनात्मक रूपमा सहज रहेकाले दक्षिण एसियाली मुलुकका पर्यटकको आकर्षण बढेको बताउनुभयो । नेपाली पर्यटक भने दशैँ सुरु भएपछि बढ्ने अपेक्षा गरिएको उहाँको भनाइ छ ।

सम्बन्धित समाचार