काठमाडौं । गत शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘बाः एक योद्धा’ले विस्तारै गति समातेको छ । पहिलो दिन ६ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको चलचित्रले बिहीबारसम्म १ करोड ११ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ ।
सात दिनमा यो चलचित्र ४० हजार ८२३ दर्शकले हेरेका छन् । क्रमशः दर्शकको फ्लो हलमा बढाउँदै गएको चलचित्र आजबाट दोस्रो हप्तामा प्रवेश गरेको छ ।
यो सिनेमाका बा अथवा दिव्यदेवले ‘बाः एक योद्धा’लाई इभी गाडीसँग तुलना गरेका छन् । उनले पेट्रोल/डिजेल गाडी जस्तै यसले विस्तारै गति लिएको बताएका छन् ।
दर्शकको माया बढ्दै जाँदा र शोहरु भरिँदै जाँदा बक्सअफिस पनि विस्तारै उचालिँदैछ । सिनेमाको ग्रसकलेक्सन रकम हरेक दिन उकालो लाग्ने क्रममा रहेको छ ।
“हरेक दिन सिनेमाको व्यापार बढिरहेको छ । चलचित्र हेर्ने दर्शकले परिवारका सबै सदस्यलाई सिनेमा हेर्न पठाउने बताइरहनु भएको छ,” निर्देशक हरि लम्सालले भने, “यसले अब हरेक दिन दर्शकको संख्या बढ्दै जानेमा हामी ढुक्क छौँ ।”
वर्ड अफ माउथ राम्रो पाउँदा चलचित्रमा हरेक दिन दर्शकको चाप बढ्दै गएको उनको भनाइ छ । “हाम्रो जस्तो सिनेमा दोस्रो हप्तामा चलेको विगत छ,” निर्देशक लम्सालले भने, “यसले हाम्रो सिनेमाले पनि दोस्रो हप्ताबाट धेरै दर्शकको साथ पाउने देखिएको छ ।”
चलचित्रको शो संख्या पनि विस्तारै हलहरुले बढाइरहेका छन् । वितरकका अनुसार देशभर चलचित्रले एक सयभन्दा बढी शो पाएको छ । दर्शकको माग बढ्दै गएपछि विभिन्न हलहरूले थप शो थपिरहेका छन् ।
चलचित्रको कथा नेपाली समाजमा सन्तानको भविष्यका लागि बाबुले गर्ने त्याग, संघर्ष र जीवनभर झेल्ने चुनौतीमा केन्द्रित छ । सन्तानको इच्छा पूरा गर्न आमाबाबुले गर्ने संघर्षदेखि वृद्ध अवस्थामा उनीहरूले पाउने उपेक्षा र दुःखसम्मका विषयलाई चलचित्रले कथाको केन्द्रमा राखेको छ ।
चलचित्रमा दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापालगायतका कलाकारको अभिनय रहेको छ ।
हरि लम्सालको लेखन तथा निर्देशनमा बनेको चलचित्र ‘बाः एक योद्धा’ आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको हो । चलचित्रको कथा तथा पटकथा पनि निर्देशक लम्सालकै रहेको छ ।
चलचित्रका निर्माता वसन्त लम्साल हुन् भने अनिल बुढाथोकी कार्यकारी निर्माता रहेका छन् । अर्जुन पौडेल लाइन प्रोड्युसर तथा कृष्ण काफ्ले सह–निर्माताका रूपमा छन् ।