उपाधि होडमा फर्कियो चेल्सी

26.3k Shares

काठमाडौं । हाकिम जियाच र थियागो सिल्भाले गरेको गोलमा चेल्सीले आइतबार राति इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनहमलाई २–० ले हराएको छ । जितसँगै चेल्सी लिगको उपाधि होडमा फर्किएको छ ।

जितसँगै चेल्सीले दोस्रो स्थानको लिभरपुलसँगको दूरी एक अंकमा छोट्ट्याएको छ । चेल्सीले २४ खेलबाट ४७ अंक जोडेको छ । त्यो दोस्रो स्थानको लिभरपुलभन्दा एक अंकले पछाडि हो भने शीर्ष स्थानको म्यानचेस्टर सिटीभन्दा १० अंकले पछाडि हो ।

यद्यपि, चेल्सीले लिभरपुलभन्दा दुई र सिटीभन्दा एक खेल बढी खेलेको छ । पराजित टोटनहम ३६ अंकका साथ सातौँ स्थानमा छ । हारपछि टोटनहमले चौथो स्थानमा उक्लने मौका गुमाएको छ । चौथो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडको ३८ अंक छ । तर, टोटनहमले युनाइटेडभन्दा दुई खेल कम खेलेको छ ।

चेल्सीले ४७औँ मिनेटमा हाकिम जियाचले गरेको गोलबाट अग्रता लिएको थियो । जियाचले २० यार्डबाट टाढाबाट बायाँ खुट्टाले हानेको प्रहारमा टोटनहमका गोलकिपर ह्युगो लोरिस मुकदर्शक बनेका थिए । पछिल्लो दुई खेलमा जियाचको यो दोस्रो गोल हो । त्यसको दुई मिनेट नबित्दै जियाचले हानेको अर्को प्रहारलाई भने लोरिसले बचाएका थिए ।

‘‘मैले उनीबाट अझ धेरै अपेक्षा गरेको छु,’’ चेल्सीका प्रशिक्षक थोमस टुचेलले जियाचबारे भने, ‘‘त्यो उत्कृष्ट गोल थियो । उनी प्राविधिक रूपमा असाधारण खेलाडी हुन् ।’’

५५औँ मिनेटमा सिल्भाले चैल्सीको अग्रता दोब्बर बनाए । सिल्भाले मासन माउन्टको फ्रिकिकलाई हेडमार्फत पोस्टको दिशा दिएका थिए । टोटनहमका रक्षकले कालुम हडसन–ओडेइलाई फाउल गरेपछि चेल्सीले फ्रिकिकको अवसर पाएको थियो ।

८६औँ मिनेटमा टोटनहमका फरवार्ड ह्यारी केनले ‘पावरफुल हेड’लाई चेल्सीका गोलकिपर केपा एरिजाबालागाले बचाएका थिए ।

लिगमा चेल्सीले चार खेलपछि पहिलो जित निकाल्न सफल भएको हो । टोटनहमले पछिल्लो सात खेलमा चेल्सीलाई हराउन सकेको छैन । पछिल्लो समय लिग कपमा पनि टोटनहम चेल्सीसँग १–० ले पराजित भएको थियो ।

सम्बन्धित समाचार