जुम्ला, ९ माघ । कनकासुन्दरी गाउँपालिका–७ की ३५ वर्षीया नन्ददेवी कामी विपन्न तथा एकल महिला हुन् । उनको साथमा तीन छोरी छन् । उनी ज्यालामजदुरी गरेरै भए पनि आफू र परिवारको पेट पाल्दै आएकी थिइन । तर, कोरोना माहामारी फैलिएसँगै उनको दैनिकी बिथोलिएको छ । सरकारले कोरोना नियन्त्रणका लागि घोषणा गरेको लकडाउन, बन्द, स्वास्थ्य सचेतना जस्ता प्रतिबन्धात्मक कार्यक्रमले उनी पहिला जसरी खुल्ला रुपमा काम गर्न नसक्ने भएकी छिन् । अझ लकडाउनका बेला त परिपारको भोक कसरी टार्ने भन्ने चिन्ता हुने गरेको उनले बताइन ।
नन्ददेवीलाई मात्रै होइन यो अवधिका विपन्न र ज्यालामजदुरी गरेर दैनिकी चलाउँदै आएका सबैलाई भोक कसरी मेटाउने भन्ने चिन्ताले ग्रसित पार्यो । कनकासुन्दरी–२ मालिकाबोताकी जलु बिकले पनि यो बेला निकै सास्ती पाएको बताइन । उनका अनुसार यो बेला आइएनएफ नेपाल नामक संस्थाले दिएको खाद्यन्नले भोट टारिएको हो । उनले थपिन, ‘हामीलाई संकटका बेला खाद्यन्न लगायत सामग्री दिएर ठूलो गुन लगाएको छ ।’
कोभिडले उत्पन्न संकट टार्न यस क्षेत्रमा सिबिएम नेपाल, आईएनएफ नेपाल र राष्ट्रिय अपांग महासंघ कर्णाली प्रदेशलगायतले निकै राम्रो पहल गरेका थिए । उनीहरूले एकल महिला, गर्भवती, असहाय बालबालिका, आपांगता भएका व्यक्ति, विपन्न र दीर्घरोगीलाई प्रथामिकतामा राखेर राहत विरतरण गरेको आईएनएफ नेपालका कार्यक्रम संयोजक फालुराम चौधरीले बताए । उनले भने, ‘राहत तीन चरणमा वितरण गर्यौं । राहत दिनुपर्ने व्यक्तिलाई स्थानीय तहले पहिचान गरेको हो ।’
सो क्रममा महामारीले अपाङ्गता भएका व्यक्ति र एकल महिला बढी प्रभावित भएका छन् । पाइएको आईएनएफ नेपाल जुम्लाका कार्यक्रम संयोजक फालुराम चौधरीले भने, ‘जुन समूहका व्यक्तिहरूलाई हामीले राहत दिएका थियौँ । सबैभन्दा बढी प्रभावित त्यही समूहमा भेटिए । कोरोना भाइरस कोभिड–१९ को मारमा जुम्ला जिल्लाका तीन हजार दुई सय ४८ जना अपांङ्गता भएका व्यक्ति परेका छन् । उनीहरू कोरोना भाइरसको मार भोग्न बाध्य छन् ।
चन्दननाथ नगरपालिकाका १० वटै वडा र कनकासुन्दरी गरी दुई स्थानीय तहमा पाँच सय ४५ जनालाई राहत वितरण गरिएको थियो । अपांङ्गता भएका व्यक्तिलाई महामारीले झन सकस भएको भन्दै राहत दिएको आईएनएफ नेपाल जुम्ला समावेशी कोभिड–१९ तयारी तथा प्रतिकार्य योजनाका कार्यक्रम संयोजक फालुराम चौधरीले बताए । उनले भने, ‘तीन चरणमा एक करोड, ६ लाखको राहत वितरण गरिएको छ ।’
अपांग पुनःस्थापना तथा विकास केन्द्र जुम्लाका उपाध्यक्ष कमला बुढाले कोरोना महामारीमा सिबिएमले राहत वितरण गरेर अलिकति भए पनि अपांङ्गता भएका व्यक्तिलाई राहत भएको छ । उनले भनिन्, ‘अपांगता भएका व्यक्तिका बारेमा सबैभन्दा पहिला सरकारले ध्यान दिनु पर्ने हो । तर, दिएको छैन ।’ उनले महामारीमा अपांगता भएका व्यक्तिका लागि अभिभावक बनेको भन्दै सिबिएम नेपाल, आईएनएफ नेपाल र राष्ट्रिय अपांग महासंघ नेपाललाई आभार ब्यक्त गरिन ।
कनका सुन्दरी गाउँपालिकाका कार्यवाहक अध्यक्ष शेरबहादुर रावतले अपांगता भएका व्यक्तिको जनजीवन अस्तव्यस्त भएको बताए । उनले भने, ‘यो राहतले अपांगता भएका व्यक्ति, विपन्नको लागि प्रशंसनीय काम गरेको छ । उनले थपे सरकारले गर्ने काम यस संस्थाले गरेको छ ।’ उनले सहयोगी संस्थाहरूलाई स्थानीय सरकारको तर्फबाट आभार व्यक्त गरे ।