राप्रपा बैठकमा झण्डै हात हालाहाल

1.6k Shares

काठमाडौं । बाग्मती प्रदेशको विषयमा छलफल गर्न हिजो बसेको राप्रपा कार्यसम्पादन समितिको बैठक निकै तनावपूर्ण बनेको खुलेको छ । बैठकमा कमल थापा र प्रेम श्रेष्ठबीच हात हालाहालै स्थिति उत्पन्न भएको थियो ।
बाग्मतीमा राप्रपा संसदीय दलका नेता उद्धव थापाले पार्टी नीतिविपरीत एमाले नेतृत्वको सरकारलाई समर्थन गरेपछि उनलाई कारबाहीको निर्णय लिन अध्यक्ष राजेन्द्र लिङदेनले बैठक बोलाएका थिए । यसअघि अनुशासन समितिको बैठक बसेर थापालाई कारबाही सिफारिस गरिसकेको थियो ।
स्रोतका अनुसार बैठकमा अध्यक्ष लिङदेनले थापामाथि कारबाहीको प्रस्ताव अघि सारे पछि कार्यसम्पादन सदस्य प्रेम श्रेष्ठले सबैभन्दा पहिले समर्थन जनाएका थिए । उनले पार्टीको विधि र पद्धति मिच्नेलाई कडा कारबाही हुनै पर्ने अडान प्रस्तुत गरे । उनले बोल्दाबोल्दै पूर्व अध्यक्ष कमल थापा जुरुक्क उठेर उनलाई थर्काएको स्रोतले बतायो ।
थापाले श्रेष्ठलाई औँला उठाउँदै भने, ‘तपाईँ अमेरिकी नागरिक भएर यो बैठकमा बस्ने नैतिकता छ ? तपाईँ धेरै नबोल्नुस् ।’
श्रेष्ठसँग अमेरिकाको नागरिकता रहेको विषयमा राप्रपामा पहिले पनि उठान भएको थियो । उनी गोर्खाका हुन् । तर लामो समयदेखि परिवारसहित अमिरकामा ‘सेटल’ भएका छन् । श्रेष्ठ अमेरिका र नेपाल आउजाउ गरिरहन्छन् । उनीसँग अमेरिकी सिटिजनसीप रहेको राप्रपाका धेरै नेताहरूले विश्वास गर्छन्, तर पनि उनी लामो समयदेखि राप्रपाको नेतृत्व तहमै छन् ।
बैठकमा थापा जंगिएपछि श्रेष्ठले पनि कडा प्रतिवाद गरे । उनले भने, ‘म अमेरिकी नागरिक हो भने हिजो तपाईँले नै दुई पटकसम्म केन्द्रीय सदस्य र सहमहामन्त्री किन बनाउनुभयो ? मैले तपाईँलाई डलर खन्याउन्जेल नेपाली हुने, अहिले आएर अमेरिकी भएँ ?’
दुईजनाको सवाल जवाफ झगडाकै तहमा पुग्यो । सबै नेताहरू आआफ्नो कुर्सीबाट उठे । कसैले थापाको त कसैले श्रेष्ठको पक्ष लिएर बोल्न थाले । थापा र श्रेष्ठबीच हात हालाहाल नै हुन आँटेपछि अध्यक्ष लिङदेनले छुट्याउन खोजे । उनले थापालाई  ‘तपाईँजस्तो सम्मानित नेता भएर यस्तो उग्रता नदेखाउनुस्’ भनेर सम्झाए ।
निकैबेरपछि मात्रै तनाव मत्थर भयो । कमल थापा  ‘बैठकको निर्णयमा मेरो नोट अफ डिसेन्ट’ लेखिदिनु भनेर निस्किए । उनले बाहिर आएर सञ्चारकर्मीसँग बैठकले उद्धव थापालाई कारबाहीको निर्णय गरेको र आफू लगायतका नेताहरूले फरक मत राखेको जानकारी दिए ।
स्रोतका अनुसार हिजोको बैठकमा लिखितरुपमा नोट अफ डिसेन्ट कसैले पनि लेखेका थिएनन् । तर कारबाही गर्नु नहुने पक्षमा डा. प्रकाशचन्द्र लोहनी, विक्रम पाण्डे, विक्रम थापा, अर्जुन राई, डा. गीताभक्त जोशी लगायतका नेताहरूले बोलेका थिए ।
पूर्वअध्यक्ष थापाले आज सामाजिक सञ्जालमा स्टाटस लेख्दै हिजोको बैठकमा केही असहज र अप्रिय परिस्थिति निर्माण हुन पुगेकाले आफूलाई अत्यन्तै विरक्त लागेको बताएका छन् ।
उनी लेख्छन्,  ‘सो बैठकमा पार्टी अध्यक्षले बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापालाई तत्काल पार्टीबाट निष्कासन गर्ने प्रस्ताव राख्नुभयो । उहाँहरू कस्तो निर्णय गर्ने भन्ने पहिले नै तय गरेर आउनुभएको रहेछ ।’ अब कारबाहीको शृङ्खला अझै बढ्दै जाने थापाको आँकलन छ । तर कारबाही र निष्कासन मात्र समस्याको समाधान नभएको उनले बताएका छन् ।
थापा भन्छन्, ‘पार्टीभित्र गम्भीर संवादहीनताको अवस्था छ । म नै पार्टी हुँ र मैले भनेकै हुनुपर्छ भन्ने अधिनायकवादी मान्यता पार्टीभित्र हाबी हुँदै गएको देखिन्छ। यसै पनि पार्टी कमजोर बन्दै गइरहेको अवस्थामा दम्भ र गुटबन्दीका आधारमा नभई सद्भाव, एकता, विधि र पद्धतिका आधारमा पार्टी सञ्चालन हुनुपर्छ ।’

सम्बन्धित समाचार