विश्व - युक्रेनको राजधानी किएभ र आसपासका क्षेत्रमा रूसले गरेको लामो दूरीको क्षेप्यास्त्र आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु हुनुका साथै ३३ जना घाइते भएको अधिकारीहरूले बिहीबार बताएका छन्।
पछिल्ला महिनामा रूस र युक्रेनले हवाई आक्रमण तीव्र बनाएपछि साढे चार वर्षदेखि जारी युद्धमा सर्वसाधारणमाथिको जोखिम बढेको छ ।
किएभका मेयर भिटाली क्लिट्स्कोले रातभर भएको आक्रमणबाट आवासीय क्षेत्र, गोदाम, स्वास्थ्य संस्था र शैक्षिक प्रतिष्ठानमा क्षति पुगेको बताए।
किएभ क्षेत्रको ब्रोभरी जिल्लामा पनि एक जनाको मृत्यु र अर्का एक जना घाइते भएको क्षेत्रीय गभर्नर तिमुर टाकाचेन्कोले बताए। उनका अनुसार एउटा औद्योगिक प्रतिष्ठानमा समेत क्षति पुगेको छ ।
रूसी आक्रमणपछि पोल्यान्डले युक्रेनसँगको सीमाक्षेत्रमा हवाई सुरक्षा प्रणाली सक्रिय पार्दै लडाकु विमान परिचालन गरेको जनाएको छ ।
रोमानियाले पनि युक्रेनी सीमासँग नजिकै हवाई लक्ष्य पत्ता लागेपछि स्पेनका दुई लडाकु विमान र आफ्नै हेलिकप्टर परिचालन गरेको बताएको छ । एउटा ड्रोन रोमानियाको हवाई क्षेत्रमा प्रवेश गरी तुल्चाको निर्जन क्षेत्रमा खसेको थियो।
यसैबीच, रूसले युक्रेनबाट मस्कोतर्फ करिब २५० ड्रोन पठाइएको जनाएको छ । मस्कोका मेयर सर्गेई सोब्यानिनका अनुसार तीमध्ये २८ वटा ड्रोन मस्को क्षेत्रमा नष्ट गरिएका थिए । युक्रेनले पनि पछिल्ला महिनामा रूसमाथि प्रतिशोधात्मक आक्रमण बढाएको छ ।
मस्कोलाई युद्ध अन्त्यका लागि वार्तामा ल्याउने दबाबस्वरूप आक्रमण तीव्र पारिएको युक्रेनको भनाइ छ ।