काठमाडौं ।रास्वपाका माननीय सांसद खगेन्द्र सुनारको साइबर सेनाले के सम्म गर्दो रहेनछन् भन्ने पछिल्लो समय सामाजिक सञ्जालमा भाइरल भएको आईजीपी दानबहादुर कार्की र एक पत्रकारबीच भएको संवादलाई लिन सकिन्छ ।
आईजीपी कार्की र पत्रकार भनिएका कृष्ण विकबीच भएको संवादलाई लिएर सामाजिक सञ्जालमा भाइरल बनाएको बारे पत्रकार भनिएका कृष्ण विकले आफू पत्रकार नभएको र सामाजिक सञ्जालमा भाइरल बनाइएको संवाद ‘एआई’ले बनाएको होला भनी बताउन थालेका छन् ।
आईजीपी दानबहादुर कार्की र एक पत्रकारबीच भएको भनिएको विवादास्पद टेलिफोन संवादको अडियो सामाजिक सञ्जालमा भाइरल भइरहेका बेला अडियोमा पत्रकारका रूपमा सुनिने भनिएका ‘कृष्ण विक’ले आफू उक्त घटनाबारे पूर्णतः अनविज्ञ रहेको बताएका हुन् ।
अडियोमा कुराकानी गरेको भनिएका कृष्ण विकसँग हाम्रा सम्वाददाताले बिहीबार बिहान ९ बजेर ४ मिनेटमा सम्पर्क गरी वास्तविकता बुझ्ने प्रयास गरेका थिए । ९८६५६५४७७५ नम्बरमा सम्पर्क गर्दा विकले आफू पत्रकार नभएको र कुनै पनि सञ्चारमाध्यममा आबद्ध नरहेको बताएका थिए ।
उनले भने, “म पत्रकार होइन, कुनै मिडियामा पनि छैन । एआईले बनाएको होला सर, मलाई थाहा छैन ।”
आफू कुन सञ्चारमाध्यममा आबद्ध हुनुहुन्छ भन्ने प्रश्न पुनः सोध्दा पनि उनले आफू पत्रकार नै नरहेको भन्दै घटनाबारे कुनै जानकारी नभएको दोहो¥याए ।
विकको यस्तो प्रतिक्रियाले सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिएको उक्त अडियोको विश्वसनीयतामाथि नै गम्भीर प्रश्न उठाएको छ । पाँच मिनेट १५ सेकेन्ड लामो अडियोमा आईजीपी कार्कीले एक पत्रकारलाई धम्कीपूर्ण भाषा प्रयोग गरेको र समाचारको स्रोत खुलाउन दबाब दिएको भन्ने झुठा आरोप लगाएको बुझिन्छ । तर अडियोमा सम्बोधन गरिएका भनिएका व्यक्तिले नै आफू पत्रकार नभएको र घटनाबारे जानकारी नरहेको बताएपछि यसको वास्तविकता पत्ता लगाउन प्राविधिक तथा तथ्यगत छानबिन आवश्यक देखिएको छ ।
उक्त अडियो २९ साउन २०८३ मा ‘ताण्डव नेपाल’ नामक फेसबुक पेजबाट सार्वजनिक भएको देखिन्छ । उपलब्ध विवरणअनुसार सोही दिन उक्त फेसबुक पेज खोलिएको पाइएको छ । अडियो सार्वजनिक भएपछि विभिन्न फेसबुक पेज तथा सामाजिक सञ्जाल प्रयोगकर्ताले त्यसलाई व्यापक रूपमा रि—पोस्ट र शेयर गरेका छन् ।
अडियोमा आईजीपी भनिएका व्यक्तिले ‘तँलाई टुंगोमा पु¥याइदिन्छु’, ‘घरबाटै घिसार्छु’ र ‘घर बिगार्दिन पनि सकिन्छ’ जस्ता धम्कीपूर्ण शब्द प्रयोग गरेको सुनिन्छ । संवादका क्रममा व्यक्तिगत जीवन र परिवारसँग सम्बन्धित विषय उठेको तथा समाचारको स्रोतबारे प्रश्न गरिएको जस्तो देखिन्छ ।
तर अडियोमा ‘कृष्ण’ वा ‘किस्ने’ भनेर सम्बोधन गरिएको व्यक्तिको वास्तविक पहिचान, सञ्चारमाध्यमसँगको आबद्धता तथा सो संवाद भएको भनिएको वास्तविक सन्दर्भ अहिलेसम्म स्पष्ट हुन सकेको छैन ।
यही कारण अडियो वर्तमान सरकारका साइबर सेनाले कृत्रिम रूपमा तयार गरिएको हो भन्ने विषयमा दुईमत छैन । आवाज सम्पादन, एआई प्रविधि वा अन्य डिजिटल माध्यमबाट सामग्री तयार गरिएको हुनसक्ने आशंका सामाजिक सञ्जालमा व्यक्त भइरहे पनि त्यसको स्वतन्त्र प्राविधिक पुष्टि भएको छैन ।
सामाजिक सञ्जालमा भने घटनालाई लिएर दुईथरी धारणा देखिएका छन् । एक पक्षले अडियोमा सुनिएको भाषालाई प्रेस स्वतन्त्रता र पत्रकारको स्रोत संरक्षणमाथिको दबाबका रूपमा व्याख्या गरेको छ । अर्को पक्षले पत्रकारले व्यक्तिगत जीवन र परिवारलाई समाचारको विषय बनाएको भए त्यो पत्रकारिताको मर्यादासँग सम्बन्धित प्रश्न भएको तथा आईजीपीलाई बदनाम गराउने उद्देश्यले ‘फेक अडियो’ तयार पारिएको हुनसक्ने दाबी गरेको छ ।
तर प्रश्न उठ्छ उक्त अडियोमा जसले फोन गरेको भनिएको व्यक्तिनै पत्रकार होइनन् भने पत्रकरिता क्षेत्रलाई बदनाम बनाउन दुष्साहस गर्ने यस्ता व्यक्तिलाई सम्बन्धित निकायले छानविन गरी त्यस्ता व्यक्तिलाई कारबाहीको दायरामा ल्याउनुपर्छ ।
सबैभन्दा गम्भीर प्रश्न भनेको—यदि अडियोमा संवाद गर्ने भनिएका व्यक्ति नै ‘म पत्रकार होइन, मलाई घटनाबारे थाहा छैन’ भन्छन् भने उक्त अडियोमा वास्तवमा कोसँग संवाद गरिएको थियो ?
अडियो कसले तयार ग¥यो ? कुन उपकरण वा माध्यमबाट रेकर्ड भयो ? आवाज वास्तविक हो कि कृत्रिम ? अडियोमा सुनिने दुवै पक्षको पहिचान के हो ? संवाद कहिले र कुन परिस्थितिमा भएको हो ? सार्वजनिक गर्ने फेसबुक पेजको उद्देश्य के थियो ? यी प्रश्नको उत्तर प्राविधिक अनुसन्धानबाट मात्र स्पष्ट हुन सक्छ ।
यसअघि पनि एआई तथा डिजिटल प्रविधिको प्रयोग गरी आवाज नक्कल गरेर भ्रमपूर्ण सामग्री निर्माण गर्ने घटना बढिरहेका बेला संवेदनशील सुरक्षा निकायका प्रमुखसँग जोडिएको यस्तो अडियो सार्वजनिक हुनु सामान्य विषय होइन । प्रमाणबिनै यस्ता सामग्री व्यापक रूपमा प्रसारण हुँदा सम्बन्धित व्यक्तिको प्रतिष्ठा, संस्थाको विश्वसनीयता र पत्रकारिताको विश्वसनीयतामाथि समेत प्रत्यक्ष असर पर्न सक्छ ।
त्यसैले प्रहरी प्रधान कार्यालय, नेपाल प्रहरीको साइबर ब्युरो तथा सम्बन्धित डिजिटल फरेन्सिक निकायले अडियोको मेटाडाटा, स्रोत, अपलोड इतिहास, आवाजको प्रामाणिकता, सम्भावित सम्पादन तथा एआई प्रयोग भएको वा नभएको विषयमा वैज्ञानिक परीक्षण गर्न आवश्यक देखिन्छ ।
प्रहरी प्रधान कार्यालयले हालसम्म यस विषयमा बुझ्नुपर्ने प्रतिक्रिया मात्र दिएको छ । अडियोको सत्यता र वास्तविक सन्दर्भबारे आधिकारिक अनुसन्धानबाट तथ्य सार्वजनिक नभएसम्म यसलाई वास्तविक संवाद भनेर प्रचार गर्नु गलत तथ्यलाइ नजिर बनाउनु देखिन्छ ।
संवेदनशील सुरक्षा निकायका प्रमुख र सञ्चार क्षेत्रसँग जोडिएको यो प्रकरणलाई राजनीतिक वा व्यक्तिगत आरोप–प्रत्यारोपभन्दा माथि उठेर डिजिटल फरेन्सिक अनुसन्धानमार्फत टुंगो लगाउनु आवश्यक छ ।