ओखलढुंगाका हर्क श्रेष्ठमाथि करोडौँ ठगीको आरोप, पीडितको संख्या बढ्दै

964 Shares

काठमाडौं । ओखलढुंगा स्थायी घर भएका निर्माण व्यवसायी हर्क श्रेष्ठमाथि पेटी ठेक्का, निर्माण व्यवसाय र विभिन्न कारोबारका नाममा करोडौँ रुपैयाँ ठगी गरेको आरोप लागेको छ। श्रेष्ठले आफूसहित परिवारका सदस्यको संलग्नतामा विभिन्न निर्माण कम्पनी सञ्चालन गरी सर्वसाधारण, व्यवसायी तथा निर्माण क्षेत्रसँग सम्बन्धित व्यक्तिबाट रकम लिने र लामो समयसम्म भुक्तानी नगर्ने गरेको पीडितहरूले दाबी गरेका छन्।
पीडितहरूका अनुसार श्रेष्ठसँग जोडिएका बृटिस एन्ड अनुभवी कन्स्ट्रक्सन, अनुभवी कन्स्ट्रक्सन र जेके एकता कन्स्ट्रक्सन लगायतका कम्पनीमार्फत विभिन्न व्यक्तिसँग कारोबार भएको थियो। ती कारोबारमध्ये ठूलो रकम अझै भुक्तानी हुन बाँकी रहेको उनीहरूको आरोप छ।
श्रेष्ठमाथि ओखलढुंगाको सिद्धिचरण नगरपालिका–११ स्थित वेन्जु आयल सप्लायर्सबाट करिब ७० लाख रुपैयाँ बराबरको इन्धन लिएर भुक्तानी नगरेको आरोपसमेत लागेको छ। पेट्रोल पम्प सञ्चालक विश्वेश्वर बरालका अनुसार रकम भुक्तानी नगरी उल्टै अनुचित लेनदेनसम्बन्धी उजुरी काठमाडौं प्रहरीमा दिइएको थियो। बरालले आफूले लामो समयदेखि उक्त रकम उठाउन नसकेको बताएका छन्।बराल भन्छन” सिरियल ठगी धन्दाका नाईके हर्क श्रेष्ठले जिल्ला प्रहरी परिसर काठमाडौंमा अनुचित लेनदेनमा उजुरी दिई हाल फरार छन प्रहरीले मलाई १० गते बोलाएको छ हेरौं के हुन्छ,तेल उधारो लाँदा कसरी अनुचित लेनदेन हुन्छ।”
ओखलढुंगा निर्माण व्यवसायी संघका अध्यक्ष तथा सिद्धिचरण नगरपालिका–११ का वडाध्यक्ष विनोदकुमार ताम्राकारले पनि श्रेष्ठबाट आफू ३६ लाख रुपैयाँ ठगिएको दाबी गरेका छन्। ताम्राकारका अनुसार श्रेष्ठले निर्माण व्यवसायी कान्छाराम तामाङको कम्पनीबाट पेटी ठेक्का लिँदै विभिन्न व्यक्तिसँग आर्थिक कारोबार गरेको र त्यसमध्ये कतिपय रकम भुक्तानी नगरेको गुनासो आफूले समेत पाएको बताए।
धरानको पेट्रोल पम्पबाट १० लाखको डिजेल लगेको आरोप
उद्योग वाणिज्य महासंघ सुनसरीका अध्यक्ष गोपाल श्रेष्ठले पनि हर्क श्रेष्ठमाथि आफ्नो धरानस्थित अरुण पेट्रोल पम्पबाट करिब १० लाख रुपैयाँ बराबरको डिजेल लिएर भुक्तानी नगरेको आरोप लगाएका छन्।
गोपाल श्रेष्ठका अनुसार डिजेलको भुक्तानीका लागि दिइएको चेकमा आवश्यक हस्ताक्षर प्रक्रिया पूरा नभएको र त्यसबाट आफूलाई आर्थिक क्षति पुगेको छ। उक्त विषयमा इलाका प्रहरी कार्यालय धरानमा ठगीसम्बन्धी प्रक्रिया अघि बढेको र अदालतबाट पक्राउ पुर्जीसमेत जारी भएको जानकारी आफूले पाएको उनले बताएका छन्।
यस विषयमा जनरक्षाले इलाका प्रहरी कार्यालय धरानका प्रहरी अधिकारीसँग सम्पर्क गर्दा श्रेष्ठविरुद्धको ठगीसम्बन्धी विषयमा अदालतबाट पक्राउ पुर्जी जारी भएको जानकारी प्राप्त भएको छ।
पेटी ठेक्काका सडक आयोजना अलपत्र पारेको आरोप
श्रेष्ठले कान्छाराम कन्स्ट्रक्सनमार्फत पेटी ठेक्का लिएको ओखलढुंगाको मिलनचोक–निसंखे सडक निर्माण सम्पन्न नगरी अलपत्र छाडेको आरोपसमेत लागेको छ।
त्यस्तै, काष्ठमण्डप कन्स्ट्रक्सनबाट पेटी ठेक्कामा लिएको भनिएको ठाडे–जन्तरखानी सडक आयोजनासमेत अलपत्र अवस्थामा छाडेको विश्वेश्वर बरालले दाबी गरेका छन्।
पीडितहरूको भनाइमा ठेक्का लिने, काम सुरु गर्ने र त्यसपछि विभिन्न कारण देखाउँदै आयोजना अधुरै छाड्ने प्रवृत्तिका कारण स्थानीय स्तरमा निर्माण व्यवसायप्रतिको विश्वासमा समेत असर परेको छ।
सडक निर्माणमा लापरबाही गर्दा दुई बालकको मृत्यु भएको दाबी
श्रेष्ठले पेटी ठेक्कामा काम गरेको भनिएको मिलनचोक–निसंखे सडकमा केही वर्षअघि भएको दुर्घटनामा दुई बालकको मृत्यु र एक जना गम्भीर घाइते भएको दाबीसमेत गरिएको छ।
पीडित पक्षका अनुसार सडक निर्माणका क्रममा आवश्यक सावधानी नअपनाउँदा पहिरो खसेर बोलेरो गाडी दुर्घटनामा परेको थियो। दुर्घटनामा दुई बालकको घटनास्थलमै मृत्यु भएको र अर्का एक जना गम्भीर घाइते भएको बताइएको छ।
मृतकका परिवारलाई क्षतिपूर्ति दिन आनाकानी गर्दै उल्टै धम्की दिएको आरोप लागेपछि मृतक बालकका बुवाले जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा उजुरी दिएका थिए। त्यसपछि श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको र केही दिनपछि पीडित परिवारलाई क्षतिपूर्ति दिएर रिहा गरिएको दाबी गरिएको छ।
ग्याल्जेन शेर्पाको ४२ लाख रुपैयाँसम्बन्धी गुनासो
ओखलढुंगाको चिसंखुगढी गाउँपालिका–७ का ग्याल्जेन शेर्पाले पनि आफू श्रेष्ठबाट ठगिएको दाबी गरेका छन्।
शेर्पाका अनुसार स्काभेटर खरिद गरी व्यवसाय सञ्चालन गर्ने भन्दै श्रेष्ठले बृटिस एन्ड अनुभवी कन्स्ट्रक्सनको नाममा आफूबाट तीन किस्तामा गरी ४२ लाख रुपैयाँ लिएका थिए।
उनका अनुसार पहिलोपटक ३० लाख, दोस्रोपटक ५ लाख र तेस्रोपटक ७ लाख रुपैयाँ दिएपछि श्रेष्ठ सम्पर्कविहीन भएका थिए। लामो समयसम्म रकम फिर्ता नभएपछि आफू न्यायका लागि भौँतारिनुपरेको शेर्पाले बताएका छन्।
‘मिटरब्याजी’ भन्दै उल्टै उजुरी गर्ने गरेको आरोप
पीडितहरूले श्रेष्ठको कारोबार गर्ने शैली पनि एउटै प्रकृतिको रहेको आरोप लगाएका छन्। उनीहरूले श्रेष्ठले सुरुमा आफूले विश्वास गर्न सक्ने व्यक्तिको मनोविज्ञान बुझ्ने, प्रभावशाली व्यक्तिसँग आफ्नो निकटता रहेको बताउने र त्यसपछि व्यवसायका नाममा रकम सापटी वा लगानीका रूपमा लिने गरेको दाबी गरेका छन्।
रकम लिएपछि फिर्ता गर्न आनाकानी गर्ने र रकम माग्दा उल्टै ‘मिटरब्याजी’ लगायतका आरोप लगाउँदै प्रहरी वा सम्बन्धित निकायमा उजुरी गर्ने गरेको पीडितहरूको आरोप छ।
जनरक्षाको सम्पर्कमा हालसम्म श्रेष्ठबाट ठगिएको दाबी गर्ने करिब २० जना व्यक्ति पुगेको बताइएको छ। उनीहरूमध्ये विभिन्न व्यवसायी, निर्माण व्यवसायी, पेट्रोल पम्प सञ्चालक, मजदुर तथा अन्य सर्वसाधारण रहेको जनाइएको छ।
श्रीमतीविरुद्धको मुद्दामा समेत पक्राउ पुर्जीको प्रसङ्ग
श्रेष्ठकी श्रीमती गीतामाया श्रेष्ठविरुद्ध यादव पौडेलको जाहेरीका आधारमा नेपाल सरकार वादी रहेको मुद्दामा जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरेको दाबीसमेत गरिएको छ।
उक्त पक्राउ पुर्जीविरुद्ध उच्च अदालत पाटन पुगेको र अदालतले देवानी प्रकृतिको विवादबाहेक फौजदारी मुद्दामा पक्राउ गरी आवश्यक अनुसन्धान गर्न सकिने व्यहोरा उल्लेख गरेको दाबी गरिएको छ। हाल फरार रहेकी गीतामाया श्रेष्ठलाई प्रहरीले खोजी गरिरहेको प्रहरी मुख्यालयले जनाएको छ।
‘ठगीको लेखाजोखा नै छैन’—पीडित
पीडितहरूले श्रेष्ठमाथि मोटर पार्ट्स व्यवसायी, श्रमिक, कर्मचारी, राशन पसले, पेट्रोल पम्प सञ्चालक तथा निर्माण क्षेत्रमा संलग्न विभिन्न व्यक्तिको रकम भुक्तानी नगरेको आरोप लगाएका छन्।
उनीहरूका अनुसार लामो समयदेखि बक्यौता रकम नपाउँदा धेरै व्यक्ति आर्थिक तथा मानसिक समस्यामा परेका छन्। कतिपय पीडित न्यायका लागि सम्बन्धित निकाय धाउन बाध्य भएको बताउँछन्।
श्रेष्ठले ठगीबाट आर्जन गरेको रकमबाट काठमाडौं उपत्यकाका विभिन्न स्थानमा महँगा घर तथा सम्पत्ति जोडेको समेत पीडितहरूको दाबी छ। पेप्सीकोलामा दुई, थानकोटमा एक, कोटेश्वरमा एक र काँडाघारीमा एक गरी पाँचवटा घर रहेको उनीहरूको दाबी छ।यसैगरी काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा घडेरीहरु समेत जोडेका पिडितहरुले बताएका छन।
कांग्रेस नेता रामहरि खतिवडासहितका व्यक्तिसमेत पीडित भएको दाबी
श्रेष्ठको कारोबारबाट नेपाली कांग्रेसका नेता रामहरि खतिवडासहित विभिन्न व्यक्तिहरू प्रभावित भएको पीडितहरूको दाबी छ।
जनरक्षाको कार्यालयमा श्रेष्ठविरुद्ध गुनासो लिएर आउनेको संख्या पछिल्लो समय बढ्दै गएका छन। हर्क श्रेष्ठका काला कर्तुतबारे समाचार सार्वजनिक भएपछि अन्य पीडितहरू पनि जनरक्षाको सम्पर्कमा आइरहेका छन।ओखलढुंगा निर्माण व्यवसायी संघका अध्यक्ष तथा सिद्धिचरण नगरपालिका–११ का वडाध्यक्ष विनोदकुमार ताम्राकार भन्छन् हर्क श्रेष्ठले १ हजार भन्दा बढिलाई ठगि गरेको आकंंलन गरिएको छ।
उल्लेखित आरोपबारे श्रेष्ठको धारणा लिन जनरक्षाले पटक–पटक सम्पर्क गर्ने प्रयास गरेको भए पनि उनीसँग सम्पर्क हुन सकेन।
हर्क श्रेष्ठमाथि लागेका आरोप, सम्बन्धित प्रहरी तथा अदालतका अभिलेख र पीडितका थप बयानबारे जनरक्षाले खोजी तथा तथ्यपुष्टिसहितको शृङ्खला क्रमशः प्रकाशन गर्दै जानेछ।

सम्बन्धित समाचार