नवलपुर । नयाँ सरकार , नयाँ गृहमन्त्री र नयाँ प्रहरी महानिरीक्षक आएपछि नेपाल प्रहरीमा व्यापक सुधार होला , विगत देखिका विसंगति हट्लान् भन्ने अपेक्षा गरेका तल्लो तहका प्रहरीमा निराशा बाहेक केही छाएको छैन । यही निराशाको कारण राजिनामा दिनेको संख्या दिनानुदिन बढिरहेको छ। जहाँ र जुन प्रहरी कार्यालयमा बर्षाै देखि एकै व्यक्ति महत्त्वपूर्ण ठाउँमा कार्यरत रहन्छ , त्यहा त्यसको मनोमानी भैरहन्छ नै । जिल्ला प्रहरी कार्यालय नवलपुरमा पनि यस्तै एउटा गिरोहका कारण प्रहरीमा ठूलो असन्तुष्टि उजागर हुन पुगेको छ । जिल्ला प्रहरी प्रमुख एसपी युवराज खड्का हुन कि प्रशासन हेर्ने वरिष्ठ सई सन्तोष पोखरेल र सुवेदार मेजर रहेका वरिष्ठ सई मोहन थापा हुन भन्ने भ्रम यहाँका तल्लो तहका प्रहरीमा रहेको छ । ट्राफिक प्रहरीमा लामो समयसम्म कार्यरत रहेर ट्राफिक प्रहरीबाट हटाइएका पोखरेल अहिले जिल्ला प्रहरी कार्यालय नवलपुरमा प्रशासन शाखा प्रमुखको रूपमा कार्यरत छन् । त्यसैगरी झण्डै १० बर्ष इलाका प्रहरी कार्यालय गैडाकोटमा कार्यरत रहेका र पछि डेढगांउ स्थित चौकीमा कार्यरत वरिष्ठ सई मोहन थापा अहिले जिल्लामा सुवेदार मेजर छन् । उनको दरबन्दी यहाँ नभएर जर्घाहा स्थित तालिम केन्द्र हो । उनलाई दरबन्दीमा अहिलेसम्म पनि रमाना गरिएको छैन । जबकि प्रहरी प्रधान कार्यालयले सबैलाई दरबन्दीमा रमाना गर्न परिपत्र गरेको पनि महिनौ बितिसकेको छ । तर पनि उनको रमाना भएको छैन ?
यिनै दुई जना वरिष्ठ सईको सेटिङमा यो जिल्ला चल्ने गरेको छ। अहिले आरसिसीको नाममा यहाँ प्रहरीको असुली आतंक व्यापक हुदै आएको छ । देखावटी रूपमा त्यसको कमान्डर असई टेकबहादुर गुरूङ भए पनि सबै असुली धन्दा मच्चाउने हवल्दार रंघ बहादुर थापा र जवान गोकुल काहार हुन । सिपाही गोकुल काहार कपाल काट्ने ठाकुर भए पनि उनलाई सबै तस्कर देखि व्यापारीसंग समन्वय गर्ने गरि खटाइएको छ। गत साउन ४ गते एक कारोवारीसंग ६ क्यास र ४ हजार मोवाइल मार्फत क्युआरमा हाल्न लगाएको पुष्टि हुदा पनि गोकुल माथि छानबिन भएन ।
चालिस किलोको जंगलमा आरसिसीको नाममा चेकिङ गर्ने भन्दै असई गुरूङको कमान्डमा रहेको यो टोलीले खुलेयाम रकम असुली धन्दा गर्दै आइरहेको छ । सहायक हवल्दार कृष्ण भण्डारी पनि यही टोलीमा रहेका छन् । बाग्लुङ दरबन्दी भएपनि र जिल्लामा चाहिने भन्दा बढी ड्राइभर भए पनि हवल्दार रामकुमार चौधरीलाई दरबन्दी नपठाएर अझै यही राखिएको छ भने अर्को हवल्दार मुकेश चौधरीलाई ड्राइभरको खोल ओढेर यही राखिएको छ । जबकि उनको दरबन्दी पनि यहाँ नभएर चितवनमा हो । यसरी जिल्ला प्रहरी कार्यालय नवलपुरमा दुई जना सई र उनीहरूको सेटिङमा राखिएका यी घुमुवाहरूको असुली आतंक नै रहेको छ।