विदेशस्थित नेपाली नियोगकै जग्गामा भवन बनाएर भाडा घटाउने सरकारको योजना

1.1k Shares

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले सरकारले विदेशस्थित नेपाली नियोगका आफ्नै जग्गामा दूतावास तथा आवासीय भवन निर्माण गरी घरभाडामा हुने खर्च घटाउने योजना अघि बढाएको बताएका छन् ।  

मंगलबार प्रतिनिधिसभामा सांसदको प्रश्नको जवाफ दिँदै मन्त्री खनालले आफ्नै जग्गा भएका नियोगका भवन क्रमिक रूपमा निर्माण गर्दै जाने योजना रहेको बताए । 

उनले नेपालको आफ्नै पहिचान र प्रतिनिधित्व झल्कने खालका विदेशस्थित नेपाली नियोग भवन निर्माण गरिनुपर्ने धारणा पनि व्यक्त गरे । 

मन्त्री खनालका अनुसार विदेशस्थित नेपाली नियोगका लागि घरभाडामा गत आर्थिक वर्षमा १ अर्ब ३९ करोड ३६ लाख रुपैयाँ खर्च भएको छ । 

भवन निर्माणमा ढिलाइ हुनुको प्रमुख कारण विदेशमा सार्वजनिक भवन निर्माणसम्बन्धी स्पष्ट कानुनी व्यवस्था नहुनु रहेको उनले बताए । 

कानुनी आधार तयार भएसँगै परराष्ट्र मन्त्रालयले आफ्नै जग्गा भएका नियोगमा भवन निर्माणको प्रक्रिया अघि बढाएको उनले जानकारी दिए । 

उनले अस्ट्रेलिया, साउदी अरब र थाइल्याण्डमा चान्सरी तथा आवासीय भवन निर्माणका लागि प्रक्रिया अघि बढाइएको जानकारी दिए । 

त्यस्तै परराष्ट्रमन्त्री खनालले प्रतिनिधिसभामा विदेशस्थित नेपाली नियोगमा स्थानीय कर्मचारी व्यवस्थापनसम्बन्धी निर्देशिका, २०७२ बमोजिम स्थानीय कर्मचारी नियुक्त गर्ने गरिएको जानकारी दिए । 

विदेशस्थित नेपाली कूटनीतिक नियोगमा ३७४ जना स्थानीय कर्मचारी कार्यरत रहेको छन् । तीमध्ये १८५ जना नेपाली नागरिक र १२६ जना विदेशी नागरिक रहेको मन्त्री खनालले बताए । 

सम्बन्धित समाचार