सरकारले सय दिने उपलब्धि सार्वजनिक गर्दै, सुशासनसँगै राज्य प्रणालीमा सुधार गरेको दाबी

790 Shares

काठमाण्डौ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र शाह नेतृत्वको सरकारले आज आफ्नो सय दिने उपलब्धि सार्वजनिक गर्दैछ । प्रधानमन्त्रीको सचिवालयका अनुसार केही बेरमा सिंहदरबारबाट सरकारका सय दिनका कार्य प्रगति सार्वजनिक गरिनेछ ।

गएको चैत १३ गते गठन भएको यस सरकारले सुशासन र पारदर्शितालाई प्राथमिकतामा राख्दै आफ्नो उपलब्धिका रूपमा थुप्रै काम अघि सारेको छ । सरकारको उपलब्धिमा उच्चपदस्थको सम्पत्ति छानबिन आयोग गठन, राजनीतिक नियुक्ति खारेजी, कर्मचारी ट्रेड युनियन र स्ववियु खारेजी, सहकारी समस्या समाधानको पहल जस्ता विषय समेटिएका छन् ।

यसै गरी मन्त्रालय सङ्ख्या घटाउने प्रयास, सेवा प्रवाह सुधार, सयभन्दा बढी कानुन संशोधनको गृहकार्य र कर्मचारी सरुवामा पहिलो पटक अनलाइन प्रणाली लागू गर्नेलाई पनि सरकारले आफ्ना उपलब्धिमा समावेश गरेको छ । सरकारले सय दिनभित्रै सम्पन्न गर्ने भनी सय बुँदे कार्यसूची ल्याएको थियो ।

सय बुँदामध्ये २० बुँदा मात्र पूर्ण रूपमा कार्यान्वयन भएका छन्, जसमा प्रमुखतः नीतिगत निर्णय र अध्यादेशहरू पर्छन् । ३३ बुँदामा उल्लेख्य प्रगति भए पनि नतिजा आउन समय लाग्ने देखिन्छ । ३१ बुँदामा काम सुरु भए पनि प्रगति आंशिक छ भने बाँकी १६ बुँदामा हालसम्म कुनै प्रगति भएको छैन । कृषि क्षेत्रमा सरकारको प्रदर्शन सबैभन्दा कमजोर रहेको छ ।

सरकारले विकल्पविनै सुकुम्वासी हटाउने, व्यवसायीलाई प्रमाणविनै दुःख दिने, विपक्षी दलका नेता कार्यकर्तामाथि प्रतिशोध साँध्ने, महँगी नियन्त्रण गर्न नसक्ने लगायतका आलोचना पनि खेप्दै आएको छ । हरेक सरकारको पहिलो सय दिनको अवधिलाई सामान्यतया आलोचनारहित ’हनिमुन पिरियड’ भनिन्छ । 

सम्बन्धित समाचार