जर्मनी आइभरी कोस्ट पराजित गर्दै नकआउट चरणमा

1.1k Shares

विश्व। टोरन्टो स्टेडियममा भएको खेलमा आइभरी कोस्टले पहिलो अग्रता लिए पनि जर्मनीले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै महत्वपूर्ण जित निकाल्यो। जर्मनीका लागि वैकल्पिक खेलाडी डेनिज उन्डाभले दुई गोल गर्दै टोलीको जित सुनिश्चित गरे।

आइभरी कोस्टका कप्तान फ्रान्क केस्सीले ३०औँ मिनेटमा गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएका थिए। युवा विङ्गर यान डियोमान्डेले अमाद डियालोलाई पास दिएका थिए। डियालोको प्रहार जर्मनीका डिफेन्डर नाथानियल ब्राउनले रोके पनि फर्किएको बलमा केस्सीले सहज गोल गरे।

पहिलो हाफमा जर्मनीले दुई पटक जाल चुमाए पनि दुवै गोल मान्यता पाएनन्। २२औँ मिनेटमा आलेक्सान्डार पाभ्लोभिचले गरेको हेडर गोल फाउलका कारण रद्द भयो भने काई हाभेर्ट्जको गोल पनि अमान्य घोषित गरियो।

दोस्रो हाफमा प्रशिक्षक युलियन नागेल्समानले वैकल्पिक खेलाडी मैदानमा उतारेपछि खेलको स्वरूप बदलियो। ६८औँ मिनेटमा नादिम अमिरीको क्रसमा उन्डाभले उत्कृष्ट फिनिस गर्दै जर्मनीलाई बराबरीमा ल्याए।

खेल १–१ को बराबरीतर्फ अघि बढिरहेको अवस्थामा इन्जुरी समयको चौथो मिनेटमा उन्डाभ फेरि नायक बने। फेलिक्स नमेचाको पासलाई नियन्त्रणमा लिएर उनले गोलरक्षक याहिया फोफानालाई छक्याउँदै विजयी गोल गरे।

उन्डाभ यसअघि पनि कुरासाओविरुद्ध जर्मनीको ७–१ को जितमा १ गोल र २ असिस्ट गरेका थिए। यस खेलमा पनि उनले बेन्चबाट आएर टोलीलाई जित दिलाए।

जितसँगै ४ पटकको विश्वकप विजेता जर्मनीले समूह चरणको एक खेल बाँकी रहँदै नकआउट चरणमा स्थान बनाएको छ। पराजित भए पनि आइभरी कोस्टको अघिल्लो चरण पुग्ने सम्भावना जीवितै छ।

अन्तिम खेलमा विश्वकपको डेब्यु टोली कुरासाओलाई हराए आइभरी कोस्ट पनि नकआउट चरणमा पुग्न सक्छ।

सम्बन्धित समाचार