काठमाण्डौ – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आजदेखि पर्सि सोमवारसम्म पश्चिम तराईका जिल्लामा अत्यधिक गर्मी र तातो हावाको लहर चल्न सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही ठाउँमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा त्योभन्दा बढी हुने सम्भावना रहेको प्राधिकरणको भनाइ छ । प्राधिकरणले दाङ, बाँके, बर्दिया, डोटी, कैलाली र कञ्चनपुरलाई उच्च सतर्कता र कपिलवस्तु, रुपन्देही, अर्घाखाँची, पाल्पा, सुर्खेत लगायतका जिल्लालाई अद्यावधिक रहनुपर्ने सूचीमा राखेको छ ।
अत्यधिक गर्मीका कारण थकाइ, कमजोरी, टाउको दुख्ने, चक्कर आउने, बेहोस हुने र बान्ता हुने जस्ता स्वास्थ्य समस्या देखिन सक्ने चिकित्सकको भनाइ छ । तातो हावाको लहरबाट बच्न चर्को घाम लागेको बेला घरभित्रै बस्न, बाहिर निस्कनैपरे पातलो कपडाले टाउको ढाक्न, प्रशस्त पानी पिउन र कागती पानी तथा फलफूल खान प्राधिकरणले अनुरोध गरेको छ ।
यस्तै बालबालिकालाई चर्को घाममा खेल्न नपठाउन र खेतबारीको काम बिहान वा दिउँसोपछि मात्र गर्न पनि प्राधिकरणले आग्रह गरेको छ ।