भाडा नतिर्ने भृकुटिमण्डपका स्टलमा समाज कल्याण परिषद्को ताला

1.9k Shares

काठमाण्डौ- समाज कल्याण परिषद् अन्तर्गतको भृकुटीमण्डप परिसरमा रहेका स्टल, बुथ र भवनहरूको करोडौं रुपैयाँ भाडा उठ्न बाँकी रहेको पाइएको छ । 

परिषद्ले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार विभिन्न संघ–संस्था, मिडिया क्लव र राजनीतिक संगठनहरूले लामो समयदेखि भाडा नबुझाई वक्यौता राखेका छन् । भाडा नबुझाउने स्टलहरूमा परिषद्ले हिजोदेखि ताल्चा लगाउन थालेको छ । 

परिषद्को तथ्याङ्कअनुसार मिडिया र सामाजिक संस्थाहरू बक्यौतामा अग्रपंक्तिमा देखिएका छन् । रिपोर्टर्स क्लव नेपालले स्टल नं. २२ को मात्रै ७३ लाख ४० हजार ९०१ रुपैयाँ ७५ पैसा भाडा बुझाउन बाँकी छ भने नेपाल पत्रकार महासंघको नाममा स्टल नं. ७ को ३३ लाख ७ हजार ४२१ रुपैयाँ ६५ पैसा वक्यौता देखिएको छ ।

राजनीतिक दल निकट संगठनहरू पनि यसमा पछाडि छैनन् । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले स्टल नं. ६० र ६१ को भाडा २०७७ साल चैतदेखि नै नबुझाएको परिषद्को विवरणमा उल्लेख छ ।

राष्ट्रिय अपाङ्ग महासंघले १ करोड १६ लाख ३२ हजार रुपैयाँ तिर्न बाँकी रहेको छ । सबैभन्दा ठूलो रकम भने काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय समाजको नाममा देखिएको छ, जसले दुईवटा स्टलको गरी १ करोड रुपैयाँभन्दा बढी वक्यौता राखेको छ ।

 

सम्बन्धित समाचार