सशस्त्र प्रहरीलाई मात्र किन बिभेद ? ः सुरक्षाविद्

18.5k Shares

काठमाडौं । नेपालको कान्छो सुरक्षा निकायको रुपमा रहेको सशस्त्र प्रहरी बललाई सरकारले विभेद गरेको छ । सरकारले नेपाल प्रहरीमा अनावश्यक अतिरिक्त महानिरिक्षकको पद बढाउँदै लाँदा सशस्त्र प्रहरीमा आवश्यकता रहँदा पनि बढाउन ध्यान नदिएकोमा सशस्त्र प्रहरीका कर्मचारी तथा सुरक्षाविद्हरूले प्रश्न उठाउन थालेका छन् ।
विगतमा सशस्त्र प्रहरीले देशको सिमानामा ८० वटा बोर्डर आउटपोस्ट मात्र बनाएको अवस्थामा सो हेर्ने अतिरिक्त महानिरीक्षक हुन्थे भने अहिले बीओपीको संख्या बढेर २२७ पुग्दा पनि सीमा सुरक्षाको जिम्मेवारी नायव महानिरीक्षक अर्थात् डीआईजीलाई दिइएकोले पनि असन्तोष बढेको देखिएको छ ।
एक सशस्त्र प्रहरी अधिकारी भन्छन्, “सीमा सुरक्षाको लागी सेवा विशिष्टिकरणको अवधारणा अनुरुप साधन, स्रोत, प्रविधि तथा जनशक्तिसमेतको स्तर वृद्धि गर्नु आवश्यक छ । त्यसतर्फ सम्बन्धित निकायको ध्यान गएको देखिँदैन ।”
सशस्त्र प्रहरी बलको प्रशिक्षण प्रतिष्ठानमा नेपाल प्रहरी तथा नेपाली सेनाको झैँ विशिष्ठ श्रेणीको अधिकृत राखिएको छैन । नेपाल प्रहरीमा भने प्रहरी एकेडेमीको नेतृत्व एआईजीले गर्दै आएका छन् । सशस्त्रमा डीआईजीले एकेडेमीको नेतृत्व गर्दै आएका छन् ।
सशस्त्र प्रहरी बल नेपालको कान्छो सुरक्षा निकाय भएता पनि यसको भूमिका बढेर गएको र सिपाहीको संख्या पनि बढ्दै गएको परिप्रेक्ष्यमा ११ वटा अतिरिक्त प्रहरी महानिरिक्षक पद सम्म बढाइएको सशस्त्रलाई पछि केवल २ वटा एआईजी पदमा सीमित गरिएको थियो । यो निर्णय २०७५ साल जेठ २८ गते हुँदा नेपाल प्रहरीको पनि १६ बाट एआईजीको संख्या ३ पु¥याइएको थियो ।
तर, २०७५ साल पछि बारम्बार निर्णय गर्दै सरकारले नेपाल प्रहरीमा ६ जना एआईजीको दरबन्दी कायम गरेको छ भने सशस्त्र केवल २ एआईजीमानै चित्त बुझाएर बसेको छ ।
०७७ मंसिर १६ गतेको मन्त्रीपरिषदको निर्णयबाट नेपाल प्रहरीमा एक एआईजी र ०७८ असार १५ मा अर्का एआईजीको दरबन्दी थप गरी प्राविधीक एआईजी समेत गरेर ६ जना एआईजीहरुको दरबन्दी कायम गरिएको थियो ।
दुवै संगठनमा दरबन्दी घटे पनि एउटाको बढ्दै जाने र अर्को संगठनमा दरबन्दी नबढ्नुले संगठनको वृत्ति विकासमा समेत नकारात्मक असर पुगेको अधिकारीहरू बताउँछन् ।
सशस्त्रका उपल्लो तहका अधिकारीहरूले सरकारले आफूहरुमाथि अन्याय गरेको बताएका छन् । सुरक्षा निकायमा सम्बद्ध भएको कारण खुल्ला रुपमा विरोध जनाउनु मर्यादा विपरीत भएको भन्दै आफ्नो नाम गोप्य राखिदिन ति अधिकारीले आग्रह गरेका छन् ।
नेपाल प्रहरीमा फेरि एआईजी दरबन्दी थपको कुराहरु चलिरहेका छन् ।  त्यस बारे भने अर्को मन्त्रिपरिषदको बैठकमा प्रस्ताव जाने समाचार आएका छन् । तर, सशस्त्र प्रहरीले सीमा सुरक्षा, प्राकृतिक विपदमा उद्धार, शान्ति सुरक्षा कायमलगायतका महत्वपूर्ण काम गर्दै आएको छ । वास्तवमै नेपाल प्रहरीमा भन्दा सशस्त्र प्रहरी बलमा एआईजी दरबन्दी थप्नुपर्ने आवश्यकता रहँदा रहँदै पनि सरकारले त्यसतर्फ ध्यान नदिई आवश्यकता नै नरहेको अवस्थामा पनि नेपाल प्रहरीमा मात्र एआईजी दरबन्दी थप्नुले सशस्त्र प्रहरी बललाई अन्याय भएको सुरक्षाविदहरुले बताउने गरेका छन् ।

सम्बन्धित समाचार