ललितपुर । झण्डै दुई हप्ता अगाडिदेखि दैनिक ज्यालादारी गरी जिविकोपार्जन गर्ने वर्गलाई लक्षित गरी चापागाउँको बज्रबाराही प्रांगणमा ललितपुर क्षेत्र नं. १ तरुण दलद्वारा ‘हुनेले दिएर जाउ, नहुनेले लिएर जाउ’ नाराका साथ संचालित ‘फुड बैंक’ राजनीतिक दवावका कारण बन्द भएको छ ।

सरकारले गरेको निषेधाज्ञाका कारण दैनिक ज्यालादारी गरी जिविकोपार्जन गर्ने वर्गलाई भोकै बस्न नपरोस् भनी संचालन गरेको फुड बैंक राजनीतिक दवावका कारण केही दिन अगाडि बन्द गर्न खोजेपनि गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन, उपमेयर मुना अधिकारीलगायत जनप्रतिनिधिको प्रत्यक्ष संलग्नतामा राहत वितरण गर्दै आएको थियो ।
यस्तो पुण्य कार्यलाई पनि राजनीतिक विषयबस्तुमा परिणत गरी ललितपुर क्षेत्र नं. १ का संघीय सांसद नवराज सिलवाल र प्रदेश सांसद चेतनाथ सञ्जेलको ठाडो आदेशमा प्रशासनले बन्द गरेको स्थानीय युवा र पीडितहरुले खोजतलासलाई बताए ।
स्मरणीय छ, सो ‘फुड बैंक’ कार्यक्रमबाट दैनिक ज्यालादारी गरी जिविकोपार्जन गर्ने र निम्न वर्गका दैनिक एक सयदेखि दुई सयसम्मका परिवारले राहत पाउँदै आइरहेका थिए ।