पृथ्वी मुनिको प्लेट चल्दा जाने भूकम्पलाई रोक्न सकिन्न : प्रमुख महर्जन

5.3k Shares

काठमाडौँ । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले महानगरभित्र नयाँ बन्ने भौतिक संरचना भूकम्प प्रतिरोधी प्रविधीसहितको बनाउन जोड दिइरहेको बताउनुभयो । उहाँले महानगरद्वारा शुक्रवार राजधानीमा आयोजित राष्ट्रिय भुकम्प दिवस कार्यक्रमलाई सम्वोधन गर्दै सो कुरा बताउनु भएको हो । 

महानगर प्रमुखले सो अवसरमा वि.स.१९९० साल माघ २ गते गएको भूकम्पको स्मरणमा ललितपुर सुन्धारा क्षेत्रमा बनाईएको स्तम्भमा पुष्पगुच्छा अर्पण गर्दै सो घटनामा दिवंगत हुनु भएका व्यक्तित्वप्रति श्रद्धान्जली अर्पण गर्नुभयो । उहाँले नेपालमा वि.स.१९९० पछि पनि वि.स.२०७२ मा पनि ठूलो जनधनको क्षति हुने गरी भूकम्प गएको स्मरण गर्दै पृथ्वी मुनिको प्लेट चल्दा जाने भूकम्पलाई रोक्न सकिन्न तर त्यसबाट हुने क्षति न्युनिकरण गर्ने उपाय अपनाउन त्यस्ता घटनाले पाठ सिकाएर गएकाले महानगरले भूकम्प प्रतिरोधी संरचनामा जोड दिंदै आएको बताउनुभयो । 

सो अवसरमा ललितपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद  भट्टराईले पृथ्वीको अस्तित्वका लागि आवश्यक प्रक्रिया अन्तरगत पृथ्वीभित्रका प्लेट चल्दा जाने भूकम्पलाई रोक्न नसकिए पनि भूकम्प प्रतिरोधी प्रविधिलाई अपनाउँदै भौतिक निर्माण गर्ने, ठूला भूकम्प जादा तत्काल राहत, उद्धारका लागि जनशक्ति तयार गर्ने, जनचेतना फैलाउने र बच्न खुला ठाउँको प्रवन्ध गर्नेलगायतका तयारी गर्नुपर्ने बताउनुभयो । 

उहाँले भूकम्पबाट ज्यान गुमाएका व्यक्तित्वप्रति श्रद्धाञ्जली अर्पण गर्दै भूकम्पका क्षति न्युनिकरणका लागि तयार रहन यस्ता दिवसले सम्झाउने विचार व्यक्त गर्नुभयो । यस वर्ष “सबै तहका सरकार, सबै नागरिकको तयारी, भुकम्प उत्थानशील नेपाल अवको जिम्मेवारी” भन्ने नारासहित राष्ट्रिय भूकम्प दिवस मनाइएको छ । 

राष्ट्रिय भूकम्प प्रविधि समाज नेपालका कार्यकारी निर्देशक सूर्यनारायण श्रेष्ठले वि.स.१९९० सालको भूकम्पपछि काठमाडौँको भूगोलपार्कमा निर्माण गरिएको भूकम्प स्मृति स्तम्भ र ललितपुरमा निर्माण भएको भूकम्प स्मृति स्तम्भमा सो भूकम्पपछि निधन भएका व्यक्तिको सङ्ख्या, क्षति पुगेको घरलगायत भौतिक संरचना र तत्काल गरिएको राहत उद्धारका विस्तृत विवरण लेखिएको बताउनुभयो । 

सम्बन्धित समाचार