बलिनगर नाका : तस्करी नियन्त्रणका लागि खोलिएको बिओपी कि तस्करको ‘सुरक्षित छाता’ ?

7.8k Shares

परासी । पश्चिम नवलपरासीको दक्षिणी भेगमा अवस्थित बलिनगर नाका पछिल्ला केही वर्षयता तस्करीको ‘हटस्पट’ का रूपमा परिचित हुँदै गएको छ। नेपाल–भारत खुला सीमाको फाइदा उठाउँदै यहाँबाट खाद्यान्न, कपडा, कृषि उपजदेखि अन्य भन्सार छलीका सामानहरू दिनहुँजसो भारततर्फ ओसारपसार हुँदै आएको स्थानीयको गुनासो नयाँ होइन। तर हालै घटेको एउटा घटनाले बलिनगर नाकाको वास्तविकता झनै नाङ्गो बनाइदिएको छ।

बलिनगर नाकाबाट तस्करी भई भारततर्फ लगिँदै गरेको ब्राजिलियन मकै बोकेको एक पिकअप गाडी भारतको करमिसवा गाउँमा भारतीय सीमा सुरक्षा बल (एसएसबी), भन्सार र राजश्व विभागको संयुक्त टोलीले बरामद गरेपछि सीमापार तस्करी मात्र होइन, नेपाली सुरक्षाकै भूमिकामाथि गम्भीर प्रश्न खडा भएको छ।

भारतीय सुरक्षाकर्मीले तस्करीको सामानसहित पिकअप नियन्त्रणमा लिएपछि भारतीय सञ्चारमाध्यम र सुरक्षा संयन्त्र सक्रिय देखिए। तर जुन नाकाबाट त्यो पिकअप नेपालतर्फबाट निर्बाध रूपमा भारत छिर्यो, त्यही नाकामा तैनाथ नेपाली सुरक्षा निकायको तर्फबाट कुनै आधिकारिक प्रतिक्रिया आउन सकेको छैन।यो मौनताले बलिनगर नाका अहिले तस्करहरूको ‘सुरक्षित मार्ग’ बनेको आरोपलाई थप बल पु¥याएको छ।

राज्यले तस्करी, अवैध ओसारपसार र सीमामा हुने आपराधिक गतिविधि नियन्त्रणका लागि भन्दै बलिनगरमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बिओपी) स्थापना गरेको हो। बिओपी स्थापना हुनु आफैंमा राज्यको गम्भीरता देखाउने कदम मानिन्थ्यो।

बिओपीमा सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा सुरक्षाकर्मी खटिएका छन्। नियमित गस्ती, चेकजाँच र निगरानीमार्फत तस्करी नियन्त्रण गर्ने जिम्मेवारी यही बिओपीको हो। तर व्यवहारमा अवस्था ठीक उल्टो देखिएको स्थानीयको भनाइ छ।बलिनगर आसपासका स्थानीय बासिन्दाहरू खुलेरै भन्छन्—“यहाँ तस्करी नियन्त्रण होइन, संरक्षण भइरहेको छ।”नाम नखुलाउने सर्तमा एक स्थानीय व्यापारी भन्छन्, “राति मात्रै होइन, दिउँसै पनि गाडीहरू सीमा काट्छन्। सुरक्षा चेकपोस्ट नजिकैबाट सामान ओसारिन्छ। सशस्त्र प्रहरीको आँखा अगाडि यस्तो भइरहेको छ भने त्यो अनजानमा हुन सक्दैन।”

स्थानीयका अनुसार, बिओपी स्थापना भएपछि तस्करी घट्नुको सट्टा झनै व्यवस्थित र ‘सेफ’ भएको छ। पहिले चोरी–लुकाइ हुने तस्करी अहिले तालिकाबद्ध र चिनजानका आधारमा हुने गरेको आरोप छ।यो प्रकरणलाई अझ रोचक बनाउने अर्को तथ्य के छ भने, बलिनगर बिओपीमा नेतृत्व गरिरहेका सशस्त्र प्रहरी निरीक्षकसहित प्रमुख जिम्मेवारीमा रहेका अधिकारीको जागिर अवधि जम्मा ७–८ महिना मात्रै रहेको बताइन्छ।अल्प अनुभव भएका अधिकारीलाई अत्यन्त संवेदनशील सीमामा जिम्मेवारी दिनु राज्यकै रणनीतिक कमजोरी हो कि नियोजित निर्णय—यो प्रश्न पनि उठ्न थालेको छ।

पूर्व सुरक्षाविद्हरू भन्छन्,“सीमावर्ती क्षेत्रमा अनुभव, इमानदारी र दबाब सहन सक्ने क्षमता अत्यन्त आवश्यक हुन्छ। नयाँ अधिकारीलाई यस्तो क्षेत्रमा पठाउँदा उनीहरू प्रभाव, प्रलोभन र दबाबमा पर्न सक्ने जोखिम उच्च हुन्छ।”

हाल बरामद भएको ब्राजिलियन मकैको पिकअप प्रकरणले अर्को महत्वपूर्ण पाटो पनि उजागर गरेको छ। पछिल्लो समय अन्तर्राष्ट्रिय बजारबाट आयात हुने मकै नेपाल हुँदै अवैध रूपमा भारत लैजाने क्रम बढ्दो छ।नेपालमा भन्सार छुट, कर संरचना र निगरानीको कमजोरीलाई प्रयोग गर्दै तस्करहरूले यस्तो मकै नेपाल भित्र्याएर भारत पठाउने गरेको आरोप छ। यसले नेपाल र भारत दुबै देशको राजश्व प्रणालीमा नोक्सानी पु¥याइरहेको विज्ञहरूको भनाइ छ।

करमिसवा गाउँमा एसएसबी, भन्सार र राजश्वको संयुक्त टोली सक्रिय देखिनु आफैंमा भारतीय पक्षको कडाइको संकेत हो। तर बारम्बार भारतमा बरामद हुने तस्करीका सामान नेपालतर्फबाट किन रोकिँदैनन् ?एक सीमाविद् भन्छन्,“यदि नेपाली पक्षले आफ्नो जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्ने हो भने अधिकांश तस्करी सीमामै रोकिन्थ्यो। भारतमा मात्र बरामद हुनु भनेको नेपाली प्रणाली असफल हुनु हो।”बलिनगर बिओपी स्थापना गर्नुको उद्देश्य नै तस्करी नियन्त्रण हो भने अहिलेको अवस्थाले त्यसको औचित्यमाथि गम्भीर प्रश्न उठाएको छ।स्थानीयहरू भन्छन्—“बिओपी नहुँदा पनि तस्करी हुन्थ्यो, बिओपी हुँदा पनि उस्तै छ। फरक यत्ति हो, अहिले तस्करहरू ढुक्क छन्।”

तस्करी नियन्त्रण नहुनुको कारण  सशस्त्र प्रहरी र तस्करबीच मिलेमतो ? राजनीतिक दबाब ?प्रशासनिक लापरबाही ? कि सीमामा निगरानी प्रविधिको अभाव  हो ?यी सबै प्रश्नको उत्तर खोजिनु जरुरी देखिन्छ। सबैभन्दा गम्भीर कुरा के छ भने, यति ठूलो घटनापछि पनि सम्बन्धित निकायहरू मौन देखिन्छन्। न सशस्त्र प्रहरी मुख्यालयको स्पष्ट धारणा आएको छ, न त गृह प्रशासनको।यो मौनताले ‘सबै कुरा थाहा हुँदाहुँदै पनि बेवास्ता गरिएको हो कि ?’ भन्ने शंका झनै गहिरो बनाएको छ।

स्थानीय बासिन्दाहरू चेतावनी दिन्छन्—“यदि समयमै छानबिन र कडा कारबाही भएन भने बलिनगर नाका तस्करीको स्थायी सेफ जोन बन्छ। त्यसको असर केवल यहाँ मात्र होइन, समग्र देशमै पर्छ।”बलिनगर नाका अहिले केवल एउटा सीमावर्ती बिन्दु होइन, राज्यको सुरक्षा, सुशासन र इच्छाशक्तिको परीक्षा स्थल बनेको छ।तस्करी नियन्त्रणका लागि खोलिएको बिओपी नै प्रश्नको घेरामा पर्नु सामान्य कुरा होइन।अब प्रश्न केवल तस्करीको होइन—राज्य साँच्चै गम्भीर छ कि छैन ?DPO-pashim-nawalparsi.jpg

सम्बन्धित समाचार