ललितपुर- विगतका वर्षहरूमा पुस ८ गतेका दिन ललितपुरको बाँडेगाउँस्थित सन्त नेता एवं पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई (किसुनजी) को आश्रममा ठुलो चहलपहल हुन्थ्यो।
तर, यस वर्ष उनको १००औँ जन्मजयन्ती र स्मृति दिवसमा यो ऐतिहासिक स्थल पूर्णतः सुनसान रह्यो।
गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलनका क्रममा भएको आक्रमणले ध्वस्त बनाएपछि यो आश्रम अहिले भग्नावशेषमा परिणत भएको छ। आगजनी र तोडफोडका कारण आश्रमको गेटमा तार बेरिएको छ भने परिसरमा जलेका सवारी साधनहरू अलपत्र अवस्थामा छन्।
झ्यालका सिसा फुटेका छन् र कहिल्यै सत्ताको लोभ नगर्ने नेताको शालिक समेत तोडफोड गरिएको अवस्थामा छ। मंगलबार किसुनजीको स्मृतिमा न कुनै राजनीतिक दलका नेता देखिए, न त कुनै विशेष कार्यक्रम नै आयोजना गरियो।
राजनीतिक नैतिकताका शिखर पुरुष
विसं १९८१ मा बनारसमा जन्मेका भट्टराईको जीवन नै नेपालको आधुनिक राजनीतिक इतिहास हो।
पूर्वसांसद प्राध्यापक होमराज दाहालका अनुसार, विद्यार्थी जीवनदेखि नै राजनीतिक चेतनाले भरिएका भट्टराई सन् १९४२ को ‘अङ्ग्रेज भारत छोडो’ आन्दोलनमा सहभागी भएर पहिलो पटक जेल परेका थिए।
विसं २००३ मा अखिल भारतीय नेपाली राष्ट्रिय कांग्रेसको महामन्त्री र पछि नेपाली कांग्रेसको सहमहामन्त्री हुँदै उनले २००७ को सशस्त्र क्रान्तिमा मुक्ति सेनाका कमाण्डरको भूमिका निर्वाह गरेका थिए।
१४ वर्ष जेल, तर कहिल्यै नझुकेको शिर
विसं २०१७ मा राजा महेन्द्रको ‘कू’ पछि बिपी कोइरालासँगै पक्राउ परेका भट्टराईले १० वर्ष लगातार र जीवनभर गरी १४ वर्षभन्दा बढी समय जेलमा बिताइ। तर, उनले कहिल्यै पनि निर्वासनको बाटो रोजेनन्। पूर्वमन्त्री ओमकारप्रसाद श्रेष्ठका अनुसार, बिपीको निधनपछि डेढ दशकसम्म कार्यवाहक सभापतिका रूपमा पार्टी हाँकेका किसुनजीले २०४६ को जनआन्दोलनको नेतृत्व गर्नुका साथै अन्तरिम प्रधानमन्त्रीका रूपमा एक वर्षभित्रै संविधान र निर्वाचन सम्पन्न गरेर राजनीतिक नैतिकताको दुर्लभ उदाहरण प्रस्तुत गरेका थिए।
छाता र कमण्डलुको त्यो बिदाइ
आफू प्रधानमन्त्री हुँदा गराएको २०४८ को निर्वाचनमा आफ्नै पराजय भोग्दा पनि विचलित नहुने भट्टराईको छवि ‘सन्त नेता’का रूपमा स्थापित छ।
बालुवाटार छोड्दा हातमा छाता र कमण्डलु लिएर पैदल निस्किएको त्यो दृश्य आज पनि नेपाली राजनीतिमा त्याग र सादगीको सबैभन्दा ठूलो प्रतीक मानिन्छ।
विसं २०६७ फागुन २० गते निधन हुनुभएका किसुनजीको यो स्मृति दिवस र आश्रमको वर्तमान अवस्थाले लोकतन्त्रका लागि सर्वस्व सुम्पेका नेताहरूप्रति राज्य र राजनीतिक दलहरूको कृतघ्नतालाई छर्लङ्ग पारेको छ।
विडम्बना, सिद्धान्तका लागि सत्ता त्याग्ने नेताको स्मृतिस्थल आज संरक्षणको पर्खाइमा छ।