वीरगंज । सशस्त्र प्रहरी बल नेपाल, नम्बर १३ गण हेडक्वार्टर पर्सामा कार्यरत सशस्त्र प्रहरी उपरीक्षक (एसपी) पुरनचन्द्र भट्टले सादा पोशाकमा परिचालन गरेका घुमुवा जवान रामराज यादवलाई काठमाडौंस्थित हेडक्वार्टर तानिएको छ ।
स्रोतका अनुसार, पाँच–छ वर्षदेखि पर्सामा कार्यरत यादव संगठनको नीति विपरीत लामो समय एउटै जिल्लामा बसेर अवैध असुली र तस्करीमा संलग्न रहेको गुनासो तथा उजुरी उच्चस्तरमा पुगेपछि उनलाई तानिएको हो ।
घुमुवा यादव तानिए पनि एसपी भट्टका प्रमुख सहयोगी र घुमुवा कमान्डर परिचालन भइरहेको छ । आई.डी. नं. ३०७७ भएका प्रहरी निरीक्षक मल्ल हाल स.प्र.बल, नेपाल नं. ४६ गुल्म हे.क्वा. डोल्पामा सरुवा भइसके पनि स्रोतका अनुसार भट्टले उनलाई ‘काजमा राखेर’ पर्सामा असुलीमा परिचालन गरिरहेको खबर प्राप्त भएको छ ।
महोत्तरीबाट पर्सा आएका एसपी भट्टले पर्सा सशस्त्र प्रहरी बलको प्रतिष्ठा धुमिल पार्दै आएको र घुमुवालाई प्रयोग गरेर अवैध कारोबार चलाएको आरोप लागेको छ । पर्सा गणमा रहेका घुमुवा जवान रामराज यादव एसपी भट्टको निर्देशमा स्थानीय तस्करहरूसँग मिलेर ठूलो रकम असुली तथा तस्करीमा संलग्न भएको विवरण आएको छ । घुमुवा यादव पर्साका स्थायी बासिन्दा हुन् ।
स्थानीय व्यापारी र स्रोतका अनुसार यादव ‘सेटिङ मिलाउने व्यक्ति’ भनेर चिनिन्छन् । संगठनको नीति विपरीत लामो समय एउटै जिल्लामा रहेकाले उनलाई हेडक्वार्टर तानिएको हो । विगतमा पनि सशस्त्र प्रहरी बल नेपाल, नम्बर २ छिन्नमस्ता बाहिनी मधेस प्रदेशका तत्कालीन बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक कालिदास धौवजी कहाँ यादवको विरुद्ध धेरै उजुरी तथा गुनासो पुगेपछि घुमुवा यादवलाई धनुषा तानिएको थियो । तर डिआईजी धौवजी सरुवा भएपछि सेटिङ मिलाउँदै यादव पुनः पर्सामा फर्केर अवैध कारोबार सञ्चालन गर्न सफल बन्दै आएका थिए ।
एसपी भट्टले पर्सा गणमा दर्जनौं घुमुवा परिचालन गरेको स्रोतको दाबी छ । घुमुवाहरुले तस्करहरूसँग मोटो रकम असुली गर्ने, तस्करीको लाइन सञ्चालन गर्ने तथा स्थानीय व्यापारीलाई धम्क्याउने गरेको स्रोतले दाबी गरेको छ ।
हेडक्वार्टर स्रोतका अनुसार, एसपी भट्टलाई पनि सोधपुछका लागि बोलाई चेतावनी दिइएको छ । भट्टमाथि भन्सार छली, चोरी तथा तस्करी नियन्त्रणमा ल्याउन असफल भएको आरोप लगाइएको छ । स्थानीयहरूले भट्टले ‘देखावटी कारबाही’ र ‘प्रचारबाजी’ गर्ने शैली अपनाएको गुनासो पनि गरेका छन् ।
सशस्त्र प्रहरी बलले घुमुवा प्रणाली अन्त्य गर्ने नीति लिएको भए पनि पर्सास्थित १३ नम्बर गणका गणपति भट्टले नीति विपरीत घुमुवा राखेर अवैध असुली र तस्करी सञ्चालन गरेको देखिएको छ ।
जानकारका अनुसार, एसपी भट्टलाई तत्कालीन गृहमन्त्री रमेश लेखकको सिफारिसमा महोत्तरी गणबाट पर्सा गणमा इन्चार्ज–टु–इन्चार्ज सरुवा गरिएको थियो । महोत्तरीमा पाँच महिना मात्र कार्यरत रहे पनि, पर्सामा आएका उनी स्थानीय तस्करी नेटवर्कसँग जोडिएर अवैध असुलीमा संलग्न भएको आरोपमा हेडक्वार्टरमा सोधपुछ भइरहेको हेडक्वाटर स्रोतले जानकारी गराएको छ ।