भ्रष्टाचार नियन्त्रणमा गरेको कडाइले चीनका सैन्य फर्महरुको आम्दानीमा गिरावट

5.9k Shares

विश्व । भ्रष्टाचार नियन्त्रणमा कडाइ गरेसँगै चीनका सैन्य फर्महरूकाे आम्दानी घटेकाे एक प्रतिवेदनले देखाएको छ । भ्रष्टाचार निर्मूलनले हतियार सम्झौता र खरिदमा सुस्तता ल्याएपछि चीनका विशाल सैन्य फर्महरूको राजस्व गएको वर्ष घटेको एक अग्रणी द्वन्द्वसम्बन्धी विचार समूहले आज सार्वजनिक गरेको अध्ययनलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले देखाएको छ ।

स्वीडेनको स्टकहोम इन्टरनेशनल पिस रिसर्च इन्स्टिच्युट (एसआईपीआरआई) को अनुसन्धानले युक्रेन र गाजामा भएका युद्धहरू र विश्वव्यापी तथा क्षेत्रीय तनावका कारण ठूला हतियार र सैन्य सेवा कम्पनीहरूको विश्वव्यापी रूपमा बलियो राजस्व वृद्धिको तुलनामा चिनियाँहरूको राजस्वमा गिरावट आएको पाइएको छ ।

चिनियाँ हतियार खरिदमा भ्रष्टाचारको आरोपका कारण सन् २०२४ मा प्रमुख हतियार सम्झौताहरू स्थगित वा रद्द गरिएको एसआईपीआरआईको सैन्य खर्च तथा हतियार उत्पादन कार्यक्रमका निर्देशक नान टियानले भन्नुभयो । यसले चीनको सैन्य आधुनिकीकरण प्रयासको स्थिति र नयाँ क्षमताहरू कहिले साकार हुनेछन् भन्नेबारेमा अनिश्चिततालाई गहिरो बनाउने उहाँको भनाइ छ ।

गएको वर्ष चीनका शीर्ष सैन्य फर्महरूको राजस्व १० प्रतिशतले घट्दा जापानको ४० प्रतिशत, जर्मनीको ३६ प्रतिशत र अमेरिकी राजस्व ३ दशमलव ८ प्रतिशतले बढेको एसआईपीआरआईको तथ्याङ्कले देखाउँछ । विश्वका १०० ठूला हतियार कम्पनीहरूको राजस्व ५ दशमलव ९ प्रतिशतले बढेर ६७९ अर्ब अमेरिकी डलर पुगेको प्रतिवेदनमा उल्लेख छ ।

अमेरिकासँगको बढ्दो रणनीतिक प्रतिद्वन्द्विता, एशियाको परम्परागत सैन्य शक्ति, ताइवान र दक्षिण चीन सागरमा तनावका कारण तीन दशकदेखि बढ्दो रक्षा बजेटको बाबजुद चीनको हतियार राजस्व घटेको छ ।

एसआईपीआरआई अनुसन्धानका अनुसार राज्यको स्वामित्वमा रहेका चीनको सबैभन्दा ठूलो हतियार निर्माता एभीआईसी, भूमि–प्रणाली उत्पादक नोरिन्को र एयरोस्पेस, मिसाइल निर्माता सीएएससी सबैको राजस्व घटेको छ । सबैभन्दा धेरै नोरिन्कोको राजस्व ३१ प्रतिशतले घटेर १४ अर्ब डलरमा झरेको छ ।

सम्बन्धित समाचार