हुम्लामा सर्वसम्मत प्रतिनिधि छनौट गर्ने प्रयास

9.9k Shares

हुम्ला । नेकपा (एमाले) हुम्लामा एघारौ महाधिबेशन प्रतिनिधि छनौट कार्य सर्वसम्मत रुपमा छनौट गर्ने प्रयास जारी राखेको छ । अब चारजना मात्र प्रतिनिधि छनौट हुन बाँकी रहेको भए पनि आकांक्षी बढी भएपछि छनौट कार्य लम्बिएको हो । 

देशभर निर्वाचन र सर्वसम्मत रुपमा प्रतिनिधि छनौट कार्य भइरहेको भए पनि दुई दिन लगातार सहमति गरेर सर्वसम्मत प्रतिनिधि छनौट गर्ने कार्यले सार्थकता पाउन नसकेको निर्वाचन कमिटीका सदस्य तीर्थराज भण्डारीले बताउनुभयो । खुल्ला दुई जनामा छ जना आकांक्षी छन् । जसमा जिल्ला अध्यक्ष ज्ञामी बुमी, बिनोद बोहरा, लोकबहादुर हमाल, उपाध्यक्ष प्रकाशबहादुर शाही, पूर्णप्रसाद ढकाल र नवराज महतारा रहेका छन् । 

उहँहरुमध्य जिल्ला अध्यक्ष बुमीलाई प्रतिनिधि छनौट गर्ने मौखिक सहमति भए पनि त्यसलाई औपचारिकता दिइएको छैन । त्यसैगरी अर्को खुल्ला प्रतिनिधि छनौटका लागि लोकबहादुर हमाललाई छान्ने कुरा आइरहेको बेला अर्को आकांक्षी बिनोद बोहराले नमानेको एमालेका एक नेताले  बताउनुभयो । 

निर्वाचन गर्न नदिने र सहमतिकै लागि आकांक्षीहरु बैठक जारी रहेको सचिव तीर्थराज बोहराले बताउनुभयो । ४० वर्षमुनिका युवाबाट र दलित कोटाबाट पर्वत सुनार निर्विरोध चयन भइ सक्नुभएको छ । दुईजना महिला प्रतिनिधिका लागि पनि छ जनाको उम्मेदवारी परेको छ । 

जसमा प्रतिमा रावल, मन्जु रावल, बिमला शाही, रुपा शाही, याङ्जु रोकाया र सौमती ऐडी रहेका छन् । महिला प्रतिनिधिमा रुपा शाही र बिमला शाहीका लागि सहमति हुन सक्ने नेताले बताउनुभयो । आकांक्षी महिलाबिच सहमति नभए जिल्ला कमिटीले प्रस्ताव गर्नेगरी तयारी भइरहेको छ । आज बेलुकासम्म एमाले प्रतिनिधि छनौट कार्य सहमतिमै टुङ्ग्याउने जनाएको छ । प्रतिनिधि छनौटका लागि दुई हजार १७१ मतदाता रहनुभएको छ । 

सम्बन्धित समाचार