प्रचण्ड अमेरिकाविरुद्ध आक्रामक, एमसीसी पास गर्न नदिने

19.5k Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अमेरिकाविरुद्ध आक्रामक बनेका छन् । उनले कुनै हालतमा यथास्थितिमा अमेरिकी सहयोगसम्बन्धी एमसीसी पारित गर्न नदिने स्पष्ट पारेका छन् । अमेरिकाको सैन्य रणनीतिबारे उल्लेख गर्दै राजनीतिक प्रतिवेदनमै प्रचण्डले चीनलाई भारतसँग सम्बन्ध सुदृढ बनाउँदै बेलायत र अष्ट्रेलियासमेतलाई लिएर घेर्न खोजेको आरोप लगाएका छन् । यसबाट प्रचण्ड अमेरिकाविरद्ध कडा बनेको स्पष्ट सन्देश गएको छ ।
माओवादीको आठौं महाधिवेशनमा प्रचण्डले अमेरिकाविरुद्ध जे जति शब्द खर्चिउ त्यसबाट उनले आफूलाई नेपालको शिर्ष नेतामध्ये एक नम्बरको अमेरिकाको विरोधीका रुपमा उभ्याएका छन् । प्रचण्डले अमेरिकालाई साम्राज्यवादी उल्लेख गरेका छन् । प्रचण्डले अमेरिकामाथि युद्ध थोपर्न चाहेको आरोप लगाएका छन् । अमेरिकी रक्षा मन्त्रालयले सार्वजनिक गरेको अभिव्यक्ति उदृत गर्दै थप युद्धमा संलग्न रहने स्पष्ट संकेत गरेको भनेका छन् । प्रतिवेदनमा भनेका छन्, ‘शीतयुद्धकालिन मानसिकताका साथ चीन र रुससँगको प्रतिष्पर्धालाई अमेरिकाले चर्काएर लान खोजेको छ ।’
हिन्द प्रशान्त क्षेत्रमा चीनलाई रोक्नका लागि अमेरिकाले बेलायत र अष्ट्रेलियासँग विशेष सैन्य साझेदारी गर्नुका साथ विभिन्न देशमा सैन्य अखडा बढाउने र सुदृढ गर्ने योजना बनाएको प्रचण्डको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा लेखेका छन्, ‘आज अमेरिकाले भारतसँगको सम्बन्धलाई सुदृढ गर्नुका पछाडि पनि त्यही रणनीतिले काम गरेको छ । वास्तवमा आज अमेरिका आफू मात्र नभई आफ्ना साझेदारहरुलाई पनि युद्धमा होम्ने तयारी गरिरहेको संकेत देखिएको छ ।’अमेरिकालाई बढी हतियार सैन्य क्षेत्रमा खर्च गर्ने पहिलो नम्बरको देशका रुपमा तथ्यसहित प्रचण्डले उल्लेख गरेका छन् । अमेरिकाबारे प्रतिवेदनमा भनेका छन्, ‘आफ्नो साम्राज्यवादी स्वार्थ पूरा गर्न उनीहरुले नियोजित रुपमा जातीय दंगा, हिंसात्मक भिडन्त र स्थानीय युद्ध थोपरेर व्यापक रुपमा हतियार विक्री गर्ने गरेका अनगिन्ती तथ्यहरु छन् ।’
प्रचण्डले हतियार र सैन्य क्षेत्रमा बढी खर्च गर्ने देशमा अमेरिकाको नाम पहिलो नम्बरमा राखेका छन् । उसको सैन्य बजेट ६०१ अर्ब डलर उल्लेख छ । अमेरिकामा १४ लाख सेना रहेको, ६८ सय आणविक हतियार, ४४ सय ४८ ट्यांक, १३ हजार ८ सय ९२ सैन्य विमान र ७२ पनडुब्बी रहेको तथ्यांक दिएका छन् । यसरी प्रचण्डले आफूलाई अमेरिकाविरुद्ध आक्रामक रुपमा प्रस्तुत गर्दै चीनको घुमाउरो तरिकाले प्रशंशा गरेका छन् । उनले अमेरिकाले चीनविरुद्ध सैन्य साझेदारी गरिरहेको राजनीतिक प्रतिवेदनमा उल्लेख गरेका छन् । उनले योसँगै एमसीसी पारित गर्न नदिने स्पष्ट सन्देश दिएका छन् ।
विश्वका शक्तिशाली धनी देशहरुले हतियारसहित सैन्य सुरक्षामा अत्याधिक खर्च गरिरहेको उल्लेख गरेका छन् । उनले पूँजीको ठूलो हिस्सा सैन्य क्षेत्रमा खर्चिएको तथ्य उल्लेख गरेका हुन् । धनी देशहरुले प्रकृति र मानवीय संरक्षणमा खर्चिनु पर्ने बजेटको ठूलो हिस्सा हातहतियार र सैन्य शक्तिको विकासमा खर्च गरिरहेको भनेका छन् । उनले प्रतिवेदनमा भनेका छन्, ‘आफ्नो साम्राज्यवादी स्वार्थ पूरा गर्न उनीहरुले नियोजित रुपमा जातीय दंगा, हिंसात्मक भिडन्त र स्थानीय युद्ध थोपरेर व्यापक रुपमा हतियार विक्री गर्ने गरेका अनगिन्ती तथ्यहरु छन् ।’
अमेरिकातर्फ संकेत गर्दै नाटो मार्फत् विश्वमा विभिन्न प्रकृतिका युद्ध र हिंसा थोपर्ने, कठपुतली सरकार निर्माण गर्ने, प्राकृतिक स्रोत र मानव श्रम लुट्ने प्रक्रिया चलाइरहेको आरोप लगाएका छन् । उनले अमेरिकाबारे भनेका छन्, ‘ठूल्ठूला बहुराष्ट्रिय निगम मार्फत् अमेरिकाले नै कम्प्युटर माइक्रे इलेक्ट्रोनिक्स, स्वचालित उपकरण, हवाइजहाज, आदि माथि एकाधिकार कायम गर्न सैन्य बजेट र विश्वका विभिन्न देशहरुमा सैनिक अड्डा कायम गर्न सर्वाधिक ठूलो धनराशी खर्च गरेको छ । विश्वका कतिपय देशहरुमा अमेरिका सैन्य अड्डा कायम गरेको समेत राजनीतिक प्रतिवेदनमा उल्लेख छ । उनले भनेका छन्, ‘विश्वका ७० देशमा अमेरिकाको सैनिक सञ्जाल फैलिएको छ । आफ्नो साम्राज्यवादी स्वार्थ पूरा गर्न उनीहरुले नियोजित रुपमा जातीय दंगा, हिंसात्मक भिडन्त र स्थानीय युद्ध थोपरेर व्यापक रुपमा हतियार विक्री गर्ने गरेका अनगिन्ती तथ्यहरु छन् ।’
यसैगरी, प्रचण्डले १०० जना धनकुबेरहरुले चाहेमा विश्व नै खरिद गर्न सक्ने उल्लेख गरेका छन् । उनले यसलाई आर्थिक असमानताको भयावह स्थिति भन्दै ती धनकुबेरहरुको नामावली समेत उल्लेख गरेका छन् । प्रचण्डले ८५ प्रतिशत सम्पत्ति २५ प्रतिशत जनसंख्या रहेको धनी देशहरुमा केन्द्रित रहेको बताएका छन् । त्यो पनि अत्यन्त सिमित धनाढ्यहरुको कब्जामा रहेको उल्लेख गरेका छन् । प्रचण्डले उल्लेख गरेका विश्वका १० धनकुबेरहरुमा बेनार्ड अर्नल्ट पहिलो नम्बरमा छन् । फ्रान्सका बेनार्डको कुल सम्पत्ति १६६.३ अर्ब डलर रहेको उल्लेख छ । दोस्रो नम्बरमा अमेजनका मालिक जेफट वेनोस छन् । विल गेट्स, मार्क जुकर वर्गको पनि नाम छ ।

सम्बन्धित समाचार