नवलपरासी – व्यावसायिक रूपमा उत्पादन हुने तरकारी तथा सागसब्जीमा विषादीको मात्रा देखिएपछि कृषि विकास कार्यालय नवलपुरले किसानलाई विषादी न्यूनीकरणसम्बन्धी सचेतना अभियान थालेको छ ।
विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ कावासोती र पालिकाको संयुक्त पहलमा व्यावसायिक रूपमा सागसब्जी उत्पादन गर्ने किसानलाई विषादी प्रयोगसम्बन्धी सचेतना प्रदान गर्ने उद्देश्यले अभियान थालिएको कृषि विकास कार्यालय नवलपुरका प्रमुख कुलप्रसाद तिवारीले बताउनुभयो । किसानको खेतबारीमै पुगेर विषादीको प्रयोगसम्बन्धी सचेतना दिन शुरू गरिएको उहाँले बताउनुभयो ।
नवलपुरको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशालामा केही दिनअघि काउलीमा ‘अर्गानोफस्फेट’ विषादीको मात्रा ९८ प्रतिशत भेटिएको थियो । कावासोती कृषि थोक बजार केन्द्रमा बिक्रीका लागि ल्याइएका सागसब्जीमा लगातार रूपमा विषादीको मात्रा भेटिएपछि विषादी प्रयोग न्यूनीकरणका लागि संयुक्त पहल थालिएको हो ।
किसानसहित विषादी बेच्ने एग्रोभेटका सञ्चालकलाई समेत विषादीको प्रयोगका विषयमा सचेत गराउने उद्देश्यले काम थालिएको कृषि विकास कार्यालय नवलपुरका प्रमुख तिवारीले बताउनुभएको छ । विषादीको उचित प्रयोग, जथाभावी विषादी प्रयोगले हुने असरलगायतका बारेमा जानकारी दिन संयुक्त अभियान चलाइएको देवचुली नगरपालिकाको कृषि विकास शाखाका प्रमुख गगन भट्टराईले जानकारी दिनुभयो ।