नाङ्गो मान्छे नाङ्गो भाषण गर्छ

14.3k Shares

नाङ्गो मान्छे—
निसंकोच घोषणा गर्छ
युगको मर्मलाई
आफ्ना कलेजाका
टुक्रा-टुक्रा अवशेषहरूमा
म जस्तै नाङ्गो छ वर्तमान।
अँध्यारो रातमा सुनिदैन
आजकाल कुकुरहरूको स्वर।
म नाङ्गो मान्छे
पर्खालमा चढेर बान्ता गर्दैछु
रक्सीको मातमा
र तिमीहरू जसलाई
अश्लील भन्दैछौ
अर्थात् मेरा गुप्तांगहरू
ती भन्दा अझै लाज लाग्ने
हुन सक्छन् अरूका भित्र पनि।
म नाङ्गो मान्छे
सडकमा उत्तानो परेको छु
मेरा गुप्तांगका रोगहरू
चिलाउँछन् भने सम्झ
म फैलिदैछ विस्तारै
रावणको वस्तीमा हनुमानको आगो
शीतल / चन्चल / निर्मल
संगीत बजिरहेको छ
कालो रातसँगै कालो
म नाङ्गो मान्छे
नाङ्गे संगीत सुनिरहेको छु
र लुगाले सजिसजाउ
एक हूल मानिसहरू
भाषण गरिरहेका छन्
म नाङ्गै देखिरहेको छु।
उनीहरू गुप्तांगका रोगहरू
कन्याउँदै शान्ति खोजिरहेका छन्
मनाङ्गो छु
उनीहरू लुगाले छोपिएका छन्
र पनि म नाङ्ग देखिरहेको छु
नाङ्गो भाषण
नाङ्गै मान्छेहरू।

सम्बन्धित समाचार