जैतुन खेतीको सम्भावना र हालसम्म भएका प्रयासहरू

7.4k Shares

(जनेश भण्डारी) अशोक कुमार दाश 

जैतुनको एउटा जङ्गली जात (Olea Cuspidata वा Ferruginea) जसलाई डोल्पा जिल्लामा 'लोटो' र बाजुरा जिल्लामा 'लौठो' भनिन्छ। परापूर्व कालदेखि नेपालका ११०० देखि २२०० मिटर उचाइमा अवस्थित १० वटा जिल्लाहरू—डोल्पा, हुम्ला, मुगु, कालीकोट, जुम्ला, बझाङ, बाजुरा र रुकुम लगायतमा रहेको जङ्गली जातको जैतुनको उपलब्धताले नेपालमा जैतुन खेतीको प्रचुर सम्भावनालाई उजागर गर्दछ।

हालसम्म नेपालमा जैतुनको सम्भाव्यता अध्ययनका लागि संचालन भएका विभिन्न आयोजना जस्तै:
- पहाडी कृषि विकास आयोजना (१९७८-१९८०)
- हिमालयन प्लान्टेशन प्रा. लि. ले सन् १९९६ मा भारतको हिमाञ्चल प्रदेश र इटालीबाट विभिन्न जातका विरुवा ल्याएर ललितपुरमा रोपेको
- बागवानी विकास आयोजना, कीर्तिपुर (JICA) ले १९९४ मा जापानबाट २ वटा जात र तत्कालीन श्री ५ सरकार, कृषि मन्त्रालयले सन् १९९६ मा इजिप्टबाट ४ वटा जैतुन जातहरू ल्याएर कीर्तिपुरको बागवानी केन्द्रमा रोपेका थिए।

त्यसपछि नेपाल सरकारको अनुरोधमा एफ.ए.ओ. ले (TCP) अन्तर्गत २ वर्षे जैतुन विकास आयोजना (जनवरी १९९८-१९९९) सिरियाबाट नेपालका लागि उपयुक्त ठानेका १८ वटा जैतुन जातहरू आयात गरी ललितपुर, डोल्पा, मुस्ताङ र डडेलधुरामा प्लान्टेशन गरिएको थियो। हालसम्म लगाइएका जातहरूमा धेरैजसो विरुवाले फल दिन थालेका छन्।

पछिल्लो चरणमा २००५ मा नेपालमा जैतुनको सम्भाव्यता अध्ययन गर्न इटाली सरकारको आर्थिक सहयोग र एफ.ए.ओ. तथा नेपाल सरकारको संयुक्त प्रयासमा संचालित नेपालमा जैतुन उत्पादन एवं उपभोग प्रवर्द्धन आयोजना अन्तर्गत बाजुरा जिल्लामा २८ वटा जैतुन जातहरू इटालीको तुसीया विश्वविद्यालयबाट ल्याई परीक्षण सुरु गरिएकोमा हालसम्म २३ वटा जातहरू फल्न सुरु भएका छन्।

गत वर्ष इटालीमा गरिएको तेलको गुणस्तर परीक्षण सफल भएकोले यस वर्ष सेप्टेम्बर महिनामा बाजुरामा स्थानीय जात र उन्नत जातबाट तेल निकालेर नेपालमा उत्पादन गरिएको अर्गानिक ओलिभ आयलको नाममा बजारमा ल्याउने तथा औपचारिक रूपमा नेपालमा जैतुन खेतीको परीक्षण सफल भएको सम्बन्धमा मिडिया मार्फत सम्बन्धित सरोकारवालाहरूलाई जानकारी गराउने फलफूल विकास निर्देशनालयको योजना थियो। तर बाजुरामा तेल पेल्न स्थापना गरिएको तेल मिल २०६९ भाद्र ८ गते आएको बाढीले क्षति पुर्‍याउँदा बाजुराको जैतुन बगैचामा भएको फल तथा जंगलमा फलिरहेको सयौं क्विन्टल जैतुन फल भुइँमा झरेर नष्ट हुने अवस्था आएको छ। परीक्षणको रूपमा निकालिएको तेलको नमूना केन्द्रीय बागवानी केन्द्र कीर्तिपुरको ल्याबोरेटरीमा सुरक्षित रूपमा राखिएको छ।

अबको आवश्यकता:
स्वास्थ्यको दृष्टिकोणले अति उत्कृष्ट मानिने जैतुन तेलको मूल्य ९०० देखि २००० रुपैयाँसम्म पर्छ। नेपालमा सबैभन्दा बढी तेल स्पेन र इटालीबाट आयात हुन्छ। वार्षिक रूपमा नेपालमा ३५ देखि ४५ करोड रुपैयाँ बराबरको तेल वैधानिक तथा अवैध रूपमा आयात हुने गरेको छ। २०१० को पछिल्लो समयमा मात्र ट्रेड प्रमोशन सेन्टर जावलाखेलका अनुसार १२ करोड रुपैयाँ बराबरको जैतुन तेल नेपाल भित्रिएको अभिलेखमा उल्लेख छ।

नेपालको गरिबी निवारण क्षेत्रमा कार्यरत निकायहरूले यस विषयमा गहिरो अध्ययन गरी सम्भावित जिल्लाहरूमा कार्यक्रम सञ्चालन गर्न आवश्यक देखिन्छ। एकातिर जैविक रूपमा रहेको जैतुन फल प्रशोधन गर्ने र अर्कोतिर रूखो, सुख्खा र हैसियत बिग्रिएको जमिनमा यसको खेती विस्तार गर्न सकिने भएकाले सम्भावित जिल्लाहरूमा कार्यक्रम विस्तार गर्न सहज छ। विभिन्न अध्ययनहरूले नेपालमा यसको सम्भावना देखाइसकेको परिप्रेक्ष्यमा नेपाल सरकारले पनि जैतुन खेतीको विकास र विस्तारमा ध्यान दिनुपर्ने देखिन्छ।

स्वास्थ्यको दृष्टिकोणमा टेवा पुर्याउन सक्ने भएकाले यस क्षेत्रसँग सम्बन्धित सम्पूर्ण सरोकारवालाहरूले जैतुन खेतीको विकास र विस्तारमा जोड दिनु आजको आवश्यकता हो। साथै उक्त तेल खरीदमा देशको करोडौं रकम देश भित्रै र देश विकासका लागि खर्च गर्न यसको आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन गर्न सकेको खण्डमा साँच्चिकै रूपमा नयाँ नेपालको परिकल्पनालाई सफल बनाउन यसले महत्वपूर्ण सहयोग गर्ने पक्का छ।

मुख्य बुँदाहरू
- नेपालमा जैतुनको परीक्षण सफल भइसकेको अवस्थामा राज्यले निजी क्षेत्रको लगानीलाई प्रवर्द्धन गर्ने नीति तथा कार्यक्रम तय गर्नुको साथै राज्यको कृषि नीति तथा कार्यक्रममा जैतुन कार्यक्रमलाई समावेश गरी कार्यान्वयन गर्नु पर्ने देखिन्छ।
- निर्माण गरिएको तेल पेल्ने मिल बाढीले क्षति गरेकोले राज्यले मिल स्थापनाको लागि ५० लाख पर्ने विद्युतिय मिल बाजुरामा स्थापना गरी वार्षिक रूपमा भूइमा खेर जाने जैतुनको प्रशोधन गर्न सुरू गर्नु पर्ने देखिन्छ।
- राष्ट्रिय जैतुन विकास बोर्ड गठन गरी नेपालमा जैतुनको विस्तृत रूपमा अध्ययन गर्न आवश्यक छ।
- कृषि विकास मन्त्रालयले सम्भावित जिल्लाहरूमा जैतुन विकास फारमको स्थापना गर्ने कार्यक्रम तर्जुमा गर्न जरूरी छ।
- जैतुन खेतीको लागि अन्य बालीहरू उत्पादन गरिरहेको जमीन मास्नु नपर्ने तथा रूखो सुख्खा जमीनमा यसको खेती गर्न सकिने र यसले गरिबी निवारण, जलवायु परिवर्तनमा सहयोग, वातावरणीय सुरक्षा गर्ने, बाढी नियन्त्रण, तेलको सेवनले मानव स्वास्थ्यमा सुधार गर्ने, रूखो सुख्खा र हैसियत बिग्रिएको जग्गामा खेती गरिने भएकाले महिला, दलित, हलिया, भूमिहीन र सिमान्तकृत वर्गको आर्थिक उपार्जनको माध्यम बन्ने प्रचुर सम्भावना बोकेकोले सम्भावित जिल्ला मध्ये राज्यले कुनै जिल्लालाई नमूना जैतुन क्षेत्र (Olive Zone) को रूपमा विकास गर्नु उपयुक्त हुनेछ।

सम्बन्धित समाचार