सिटीलाई शीर्ष स्थानमा ६ अंकको अग्रता

17.3k Shares

काठमाडौं । रहिम स्टार्लिङको दुई गोलप्रेरित म्यानचेस्टर सिटीले आइतबार राति लेस्टर सिटीमाथि ६–३ को विजय हासिल गर्दै उपाधि रक्षा अभियान अझ मजबुत बनाएको छ । जितसँगै सिटीले शीर्ष स्थानमा ६ अंकको अग्रता बनाएको छ ।

इंग्लिस प्रिमियर लिगको आधा खेल सकिँदा सिटीले दोस्रो स्थानको लिभरपुललाई ६ अंकले पछाडि पारेको हो । यद्यपि, सिटीले भन्दा लिभरपुलले एक खेल कम खेलेको छ ।

सिटीले पहिलो २५ मिनेटभित्र ४–० को अग्रता लिएको थियो । केभिन डी ब्रुयनाको गोलबाट सिटीले पाँचौँ मिनेटमा अग्रता लिएको थियो । १४औँ मिनेटमा रियाद महारेजले अग्रता दोब्बर बनाए । २१औँ मिनेटमा इल्के गुन्डोगनले तेस्रो गोल थपे । २५औँ मिनेटमा स्टर्लिङले चौथो गोल थपे ।

दोस्रो हाफमा लेस्टर लगातार तीन गोल गर्दै पुनरागमनको प्रयास गर्यो । लेस्टरका जेम्स म्याडिसनले ५५औँ मिनेटमा गोल गरे । एडेमोला लुकमनले ५९ र केलेची इहेनाचोले ६५औँ मिनेटमा तेस्रो गोल गरे ।

तर, त्यसपछि सिटीले थप दुई गोल गरेपछि लेस्टरको पुनरागमन प्रयास समाप्त भएको थियो । ६९औँ मिनेटमा सिटीका एमेरिक लापोर्टे र ८७औँ मिनेटमा स्टर्लिङले अर्को गोल गरेपछि सिटी ६–३ ले विजयी भएको थियो । सिटी ६ अंकको अग्रतासहित शीर्ष स्थानमा रहँदा लेस्टर २२ अंकका साथ दशौँ स्थानमा छ ।

सम्बन्धित समाचार