झापा महिला गोल्डकपको ४ खेलमा ११ लाख रुपैयाँभन्दा धेरैको टिकट बिक्री

7.7k Shares

काठमाण्डाै – झापाको शिवसताक्षीमा रहेको दूधे रङ्गशालामा चलिरहेको झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको चार खेलमा ११ लाख रुपैयाँभन्दा धेरैको टिकट बिक्री भएको छ ।

प्रतियोगितामा क्वाटरफाइनलका चार खेल सकिँदा टिकट बिक्रीबाट ११ लाख ४५ हजार रुपैयाँ आम्दानी भएको आयोजकले जनाएको छ । प्रतियोगिता हेर्न स्थानीयवासीदेखि आसपासका जिल्लाबाट दर्शकहरू रङ्गशालामा उपस्थित भइरहेका छन् । महिला फुटबलप्रति बढ्दो चासो, स्थानीय खेलाडीको सहभागिता र विभागीय टोलीहरूको प्रतिस्पर्धाले दर्शकको आकर्षण झनै बढाएको छ ।

आयोजक झापा महिला फुटबल प्रतियोगिता समितिका अध्यक्ष सन्तोष थोप्राले दर्शकको उत्साहले आफूहरूलाई थप जिम्मेवारी बढाएको बताउनुभयो । टिकट बिक्रीबाट प्राप्त रकम प्रतियोगिता सञ्चालन, खेलाडी प्रोत्साहन र मैदान व्यवस्थापनमा प्रयोग गरिने उहाँको भनाइ छ ।

टिकट बिक्री विवरण अनुसार क्वाटरफाइनलको तीन खेलको टिकटबाट ९ लाख ७० हजार रुपैयाँ र अन्तिम क्वाटरफाइनलको टिकटबाट १ लाख ७४ हजार रुपैयाँ सङ्कलन भएको छ ।

यसैबीच प्रतियोगिताको पहिलो सेमिफाइनलमा अहिले दिउँसाे ३ बजे नेपाल पुलिस क्लब र सङ्कटा एफसीबीच खेल भइरहेको छ । यस्तै दोस्रो सेमिफाइनलमा भोलि एपीएफ एफसी र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको फाइनल खेल आउँदो सोमवार हुनेछ । प्रतियोगिताको विजेताले १० लाख १० हजार रुपैयाँ र दोस्रो हुने टोलीले पाँच लाख रुपैयाँ पाउने आयोजकले जनाएको छ ।

सम्बन्धित समाचार