काठमाडौं– नेपाल भारत संयुक्त प्राविधिक टोली (ज्वाइन्ट टेक्निकल टिम–जेटीटी) को १७ औं बैठक सोमबार र मंगलबार पोखरामा हुँदैछ । बैठकमा नेपाल भारत जोड्ने प्रशारणलाइन मुख्य एजेण्डाको रुपमा रहेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सन्दीप देवले जानकारी दिए ।
बैठकमा नेपाली पक्षको नेतृत्व देवले गर्नेछन् । भारतीय सात सदस्यीय टोलीको नेतृत्व गर्दै केन्द्रीय विद्युत प्राधिकरणका चिफ इन्जिनियर बी.एस. बैरवाले गर्नेछन् । बैठकको सम्पूर्ण तयारी पूरा भइसकेको छ ।
बैठकको प्रमुख एजेण्डा अन्तरदेशीय विद्युत प्रसारण लाइनमा केन्द्रित हुने नेपाली टोली नेता देवले कारोबार दैनिकलाई जानकारी दिए । निर्माणाधीन बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइन अहिलेलाई २२० केभीमा चार्ज गर्ने विषयमा छलफल हुनेछ । सन् २०२६ को मे २६ देखि सञ्चालनमा आउन लागेको यो प्रसारण लाइनको परीक्षण पनि गर्दै जाने र क्षमता क्रमशः वृद्धि गर्दै लैजाने गरी अघि बढ्ने तयारी रहेको सहसचिव देवले बताए ।
अमेरिकी अनुदान सहयोगमा नेपाली भूभागमा बनाउन लागेको सबस्टेशन तोकिएको समय सन् २०२६ मा पूरा नहुने भएपछि थोरै क्षमतामा चार्ज गर्न लागिएको हो । पूर्ण क्षमतामा चार्ज गर्न आवश्यक सम्पूर्ण तयारी पूरा नहुने भएकाले ४०० केभीमा चार्ज हुनेछैन । तर, क्रमशः क्षमता अभिवृद्धि गर्दै लैजाने तयारी छ ।
बैठकमा अर्को एजेण्डाको रुपमा चमेलिया–जौलीजीवी २२० केभी प्रसारण लाइनको सम्भाव्यता अध्ययन र निर्माणबारे रहेको छ । यो प्रसारण लाइनको सम्भाव्यता अध्ययनले कुल लम्बाइ ४५ किलोमिटर रहने देखाएको छ । त्यसमध्ये अधिकांश माग नेपाली भूभागमा पर्छ । ‘नेपाली पक्षले सम्भाव्यता अध्ययन तयार गरिसकेका कारण बैठकमा प्राविधिक पाटोबारे विस्तृतमा छलफल हुनेछ,’ सहसचिव देवले भने । भारतीय भूभागमा थोरैमात्र प्रसारण लाइन निर्माण गरे पुग्ने अध्ययनले देखाएको छ ।
त्यस्तै, एजेन्डामा ढल्केबर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइनको क्षमता पुनः मूल्यांकन गर्ने विषय पनि छ । अहिले यो प्रसारण लाइनको क्षमता ११ सय मेगावाट तय गरिएको छ । थप विद्युत निर्यात गर्न वा आयात गर्नको लागि क्षमता कति निर्धारण गर्ने भन्ने विषयमा छलफल हुनेछ । यसबाहेक बैठकमा अन्य अन्तरदेशीय प्रसारण लाइनको अध्ययनका प्राविधिक पक्षबारे छलफल हुनेछ ।
कारोबार दैनिकबाट