नेपाली भाषा संस्कृति र लोक साहित्यको जन्मथलो कर्णाली

11.1k Shares

जेबी बिष्ट

यस पृथ्वीमा प्रत्येक बस्तुले आ–आफ्नो स्वभावका आधारमा आफ्नो अस्तित्व जोगाएको हुन्छ । आगोमा उत्ताप, सुर्यमा तेज, पानीमा प्राणशक्ति, पृथ्वीमा उर्वराशक्ति, वतासमा शीतलता प्रदान गर्ने क्षमता, काठमा आगो भएन भने जसरी यी चिजहरूको महत्व या अस्तित्व दुवै नास भएर जान्छ त्यस्तै समाज या राष्ट्रले यदि उसको परम्परादेखि चलिआएको धर्म या संस्कृतिलाई छोड्दियो भने उसका लागि आफ्नो अस्तित्व जोगाउन सम्भव हुँदैन ।

हरेक राष्ट्रको आफ्नो प्रतिष्ठित राष्ट्रिय धर्मका पछाडि एउटा दीर्घकालीन इतिहास भएकै हुन्छ । राष्ट्रको राजनैतिक इतिहास भन्दा सभ्यताको इतिहास धेरै गुणा प्राचीन हो भनी बुझनुपर्छ । किनभने सभ्यता मानिसको अन्तजीवनसित गाँसिएको हुन्छ । आ आफ्नो सभ्यतालाई फस्टाउन नदिई मानिस बाँच्न पनि सक्दैन ।

शान्ति पनि पाउदैन र उसको सामाजिक जीवनमा पनि लयबद्धता देखिदैन । राजनीतिसित यसको गहिरो सम्वन्ध छ किन भने राष्ट्रिय संस्कृतिलाई राजनीतिले सुरक्षा दिनु पर्ने हुन्छ । त्यसैले हरेक देशका मानिसको पनि उद्देश्य पवित्र, स्वच्छ र सार्वजनिक हितको हुनुपर्छ । त्यो उदेश्य पूरा गर्न थोरै परिश्रम र त्यागले मात्र हुँदैन ।

निकै त्याग, समपर्ण र समाजप्रतिको सकारात्मक सोचले मात्र लक्ष प्राप्त गर्न सकिन्छ । विश्वको छाना मानिने भोटको पनि छानामा पर्ने पर्वतहरूको राजा कैलास सबैभन्दा पवित्र पर्वत हो ।

त्यसैले कैलासलाई हिन्दुहरूको भगवान शिवको वासस्थान पनि भएकोले त्यस ठाँउलाई स्वर्ग नै मानिन्छ । त्यसैले कर्णाली भनेको वास्तवमा स्वर्गका देवता बस्ने धर्ती हो । खशहरूको कर्म थलो हो । राष्ट्रमा बोलिने भाषाको उद्गम स्थल हो महाभारत ग्रन्थमा पाण्डवहरू कैलासबाट सोझै स्वर्ग पुगेको वर्णन पाइन्छ ।

जडानको परम्परागत धर्म वोन्पोको अनुसार कैलासलाई सबैभन्दा पवित्र नौतले स्वस्तिक पर्वत मानिएको छ । जैन धर्मका संस्थापक रिसवनाथले सिद्धि प्राप्त गरेको अष्टपाद हिमाल पनि यही हो पूर्वीय शास्त्रहरुमा मनु र शतरूपालाई मानव जातिको आदि पुर्खा मानिएको छ । एक थरी विद्धानहरू कर्णाली किनारमा रहेको कालीकोटको सदरमुकाम मान्म (खाँडाचक्र) लाई प्रथम मनुको राजधानी र विश्वको प्रथम संविधान मनु स्मिृति प्रदान गरिएको स्थान मान्दछन् ।

नेपालमा मनाइने दशै, भैलो, देउसी, माघतिहार, साउने संक्राति यी सवै चाडपर्वहरू कर्णालीकै इतिहाससंग जोडिएका छन् । कर्णाली क्षेत्रका पाखा, पखेरा, गाँउ बस्ती खर्क, लेक पाटन खोलाखोल्सी वन जङगल जहाँ गए पनि यहाँको भाषा संस्कृति र लोक साहित्य यत्र तत्र सर्वत्र छरिएर रहेको छ । त्यसैले कर्णाली क्षेत्रलाई नेपालको भाषा संस्कृति र लोक साहित्यको भण्डार मानिन्छ । कर्णाली प्रदेश नै नेपालको भाषिक र सांस्कृतिक उद्गम स्थल हो र संस्कृतिक राजधानी हो ।

आज नेपाली भाषा संस्कृतिले जति विकास गरेकोभए पनि त्यसको जग कर्णाली क्षेत्र नै भएको तथ्य कसैले बिर्सनुु हँुदैन । कर्णाली प्रदेश विशाल हिमवत खण्डको केन्द्रका रूपमा रहेर पूर्व र पश्चिम दुबैलाई आफ्नो ऐतिहासिक योगदान दिदै आएको छ । कर्णाली क्षेत्रले नेपाल र नेपालीलाई जसरी आधारभूत र महत्वपूर्ण सम्पदा र योगदान दियो आज त्यसैलाई नेपालका शासकहरूले बिर्सिदिएका छन् ।

जुन क्षेत्रलाई सबैभन्दा वढी महत्व दिइनुपर्नेे त्यसैलाई उपेक्षा गर्नाले नै आज सारा नेपाल र नेपालीलाई कर्णालीको श्राप लागेको छ । कर्णाली क्षेत्र नेपालका सबै महत्वपूर्ण तर केन्द्रीय तहबाट अपहेलना गरिएका क्षेत्रहरुको प्रतिनिधि क्षेत्रको रूपमा रहेको छ किन ? कर्णालीले सधै नेपाल राष्ट्रको ऐतिहासिक मौलिकता र पहिचान कायम गर्दा पनि सो क्षेत्रको गरिवी, शोषण, उत्पीडन र भेदभावको सिकार हुँदै आएको देखिन्छ ।

के हो पहिचान र सामाथ्र्य ? अझै पनि नेपाली जनतालाई त्यसको बारेमा थाहा छैन । केही राजनीतिक पार्टीका नेताहरूले जनतालाई शब्द जालमा भ्रमित गर्दै आफू मोटाउने खेल गरिरहेका छन् । त्यसैले कर्णालीको प्रगति सुरक्षा र उत्थान अहिलेसम्मका काठमाडौंका शासकहरूबाट हुँनै सकेन भन्ने कुरा त अहिलेसम्मको व्यवहारले प्रमाणित गरिसकेको छ ।

त्यसैले अहिलेसम्म झुकिएर कर्णाली क्षेत्रका जनता जुन पार्टी र दलमा लागेको भए पनि अब सबैले नयाँ राजनीति अँगाल्नु पर्ने खाँचो देखिएको छ । यो निर्णायक घडीमा कर्णालीका सच्चा इमान्दार नागरिकलाई संविधानसभा र प्रमुखदलका शीर्ष नेताको कानमा आफ्ना आवाज सुनेको नसुनेझै गरि यदि राज्य पुनःसंरचना गरियो भने त्यो देशकै लागि घातक हुने छ ।

हामी सबैको मुख्य समस्या र शत्रु भनेको विचारको गरिवी र पछौटेपन हो । हाम्रो विरोध सवैखाले अतिवादसंग हुनुपर्छ । हाम्रो विमति भनेको धर्म परिवर्तन कुशासन, भष्ट्राचार, दण्डहीनता र सामाजिक अपराधसंग हुनुपर्छ । विगतको गरिवी र विपन्नता होस् वा भविष्यको समृद्धि र सम्पन्नता दुबै सन्र्दभमा कर्णाली क्षेत्र आफैमा एक बलियो पहिचान हो भावना हो, साझा मनोविज्ञान पनि हो ।

राज्यबाट सबैभन्दा अपहेलित क्षेत्र कर्णालीले आफ्नो अधिकारको पहिचानसहितको सामाथ्र्य र समृद्धिको आधारभूत हक खोजेको छ । राष्ट्रियताको सुदृढीकरण र वलियो एकता आजको आवश्यकता हो । यसका लागि उत्पीडित क्षेत्रका सबै खाले जनताको राजनीति आर्थिक, सामाजिक, सांस्कृतिक शैक्षिक लगायत अन्य उत्थानका लागि अव बन्ने नयाँ संविधान र कानूनमा नै विशेष व्यवस्था कायम गरिनुपर्छ । त्यो व्यवस्था लक्षित वर्ग जातिले साँच्चै उपभोग गर्न पाउनु पर्छ ।

राज्यका साधन स्रोत एवम् अवसरहरूको न्यायोचित वितरण गरी आम जनतालाई सन्तुलित विकासको अनुभूति दिलाउन नितान्तै जरुरी छ । विगतमा यस तर्फ ध्यान पुग्न नसक्दा प्रचुर मात्रामा स्रोतको सम्भावना हुँदा हुँदै पनि हरेक दृष्टिबाट कर्णाली जस्ता धेरै पिछडिएका क्षेत्रहरू अझै पछि परेका हुन । त्यसैले यस्ता क्षेत्रहरूको चौतर्फी विकास नभएसम्म नेपालको समग्र विकास हँुनै सक्दैन ।

जवसम्म कर्णाली क्षेत्रको राजनीतिक, आर्थिक, शैक्षिक बिकास हँुदैन तवसम्म नेपाली राजनीति, भाषा र संस्कृतिको पनि यथोचित विकास हँुनै सक्दैन । आजसम्म कर्णाली क्षेत्रको विकास बारेमा थुप्रै बहस, छलफल, गोष्ठी र सेमिनार भइसकेका छन् । कर्णाली नदीमा जसरी निरन्तर पानी बगिरहेको छ त्यसै गरी त्यहाँको विकास गर्ने भन्दै सरकारी तथा गैरसरकारी निकायबाट पैसाको खोलो बगाइदा पनि कर्णाली क्षेत्र जहाँको त्यही छ ।

हिजो जुन अवस्थामा थियो आज पनि त्यही अवस्थामा छ । केही राजनीतिक पार्टीका झोले र एनजिओ आइएनजियोका ठेकेदारी गर्ने टाठा बाठाहरू मात्र मोटाउने काम बाहेक अरू केही हुन सकेको छैन । कर्णालीमा तमाम सम्भावना भएता पनि अझै केन्द्रीय सत्ताकै मुख ताक्नु पर्ने अवस्था छ किन ?

अब यसका वारेमा गम्भीर रुपमा कर्णाली र केन्द्रबीच निर्णयाक बिन्दुुमा पुुग्न जरूरी छ । कर्णाली क्षेत्रको भाषा लोक साहित्य र संस्कृतिको यथोचित विकासका लागि आर्थिक विकासको विशेष योजनाका साथै राजनीतिक स्वायत्तता र कर्णाली प्रज्ञा प्रतिष्ठानको पनि ठूलो आवश्यकता छ ।

कर्णालीको राजनीतिक, ऐतिहासिक, भाषिक र सांस्कृतिक महत्व एकरत्ति पनि नबुझ्ने केन्द्रका राजनीतिज्ञ, योजनाकार, साहित्यकारहरूले त्यहाँको भाषा लोक साहित्य संस्कृतिको विकासमा कुनै पनि योगदान दिन सक्ने सम्भावना नै छैन ।

त्यसैले त्यस क्षेत्रकै राजनीतिज्ञ, भाषाविध, इतिहासकार लोकसाहित्यकार एकजुट भई राजनीतिक स्वायत्तता सहितको कर्णाली प्रज्ञा प्रतिष्ठानकोे स्थापना गरी यथासक्य चाँडो कार्य प्रारम्भ गरिहाल्नुपर्ने बेला आएको छ । कर्णाली क्षेत्रले आफ्ना प्रत्येक सम्पदाहरूको व्यवस्थित र वैज्ञानिक तथ्य तथ्यांकहरू संकलन गरी आफ्नै मौलिक गौरव कायम गर्नै पर्दछ । अबको नेपालको राष्ट्रिय पुनः निर्माण सहितको नँया नेतृत्व कर्णाली क्षेत्रले लिनै पर्दछ ।

कर्णालीका लोक, भाषा साहित्य संस्कृति सम्वन्धि विविध विधाहरूको संकलन, सम्वद्र्धन एंव प्रवद्र्धन गर्ने कार्यमा धेरै ढिला भईसकेको छ । यस कार्यलाई कार्यान्वयन गर्न नेपाल सरकारले तत्काल पहल गरोस् ।

यसैमा नेपालको भलोे हुने छ । आज २१ औ शताब्दीमा संसार अन्तरिक्ष युगमा पुग्दा कर्णाली प्रदेशलाई पेटयुगमा राख्ने अनि नुन समेत खान नपाउने पीडामा पिल्सिनुपर्ने स्थितिलाई बदल्न कर्णाली क्षेत्रका नागरिकहरु एकीकृत भएर उठ्दै आँधी र बाढी झै त्यस क्षेत्रका आजका युवाहरू अग्रगमनमा आउनु पर्ने आवश्यकता भएको छ । हाम्रो माटोको मुक्ति कर्णाली क्षेत्रका जनताको प्रतिष्ठा प्रति र माथिको उपनिवेशलाई खत्तम गर्न फेरि सिंजा उपत्यका, दानसाघु मान्म, लालुु लोखाडा, सान्नि रास्कोट लगायतका ठाँउमा जम्मा भएर खाँडो खेल्न जानु पर्ने बेला आइसकेको छ ।

कर्णाली क्षेत्रका युुवा आज जुनसुकै ठाँउमा भएपनि एकीकृत हँुदै हाम्रो भाषा, लोकसंस्कृति, राजनीति अधिकार लगायत अन्य क्षेत्रमा अग्र पंक्तिमा आउँदै कर्णालीका युुवाहरूले जित्नुपर्छ ।

अब हामीहरूले मानसरोवर, कर्णाली नदी, राराताल, से फोक्सुण्डो लगायतमा खाँडो पखाल्ने दिन छिटै आओस् र अब आउँदै गरेको २०८२ सालको दशै तिहारमा खुशीका साथ देउसी, भैलो खेल्न पाइयोस् । वास्तवमा कर्णालीमा सत्य छ एक पटक सत्यको विजय हुने छ । नयाँ कर्णाली भई विकासमा अगाडि लम्कने छ । आजका कर्णालीका युुवाहरूमा बेलैमा चेतना भया !!

सम्बन्धित समाचार