जेन–जी आन्दोलनमा भवन जलाउन रसायन प्रयोग भए/नभएकोबारे वैज्ञानिक परिक्षण गर्ने आयोगको निर्णय

6.7k Shares

काठमाण्डौ – जेन–जी आन्दोलनका क्रममा सरकारी तथा निजी भवन जलाउनेले प्रज्वलनशील रसायन प्रयोग भए वा नभएको पत्ता लगाउन वैज्ञानिक परीक्षण हुने भएको छ । आन्दोलनका क्रममा भएको दमन र हिंसात्मक गतिविधिबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले महत्त्वपूर्ण भवनहरूबाट खरानी सङ्कलन गरेर परीक्षण गर्न नेपाल प्रहरी केन्द्रीय विधिविज्ञान प्रयोगशालालाई भनेको प्रवक्ता विज्ञानराज शर्माले जानकारी दिनुभयो ।

नेपाली सेनाले सङ्कलन गरेको विवरण अनुसार भदौ २३ र २४ गते भएको जेन–जी प्रदर्शनका क्रममा सरकारी कार्यालयसहित झन्डै सात सय वटा संरचनामा क्षति पुगेको छ । संसद् भवन, सिंहदारबारमा रहेको प्रधानमन्त्री कार्यालय, सर्वोच्च अदालत, राष्ट्रपतिको कार्यालय रहेको शीतलनिवास, बालुवाटारमा रहेको प्रधानमन्त्री निवास, मन्त्रीहरूको निवास सहितका महत्त्वपूर्ण सरकारी कार्यालयमा आगजनी भएको थियो ।

यस्तै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापती शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका कैयौँ नेता र सरकारी अधिकारीका घरमा पनि आगजनी भएको थियो ।

आगजनीका क्रममा फैलिएको आगोको मुस्लोलाई लिएर धेरैले रसायनको प्रयोग र तालिमप्राप्त जनशक्तिले आगो लगाएको आशङ्का गर्दै आएका छन् । अमेरिकी पत्रिका ‘द न्यूयोर्क टाइम्स’ले पनि विज्ञहरूलाई उद्धृत गर्दै नेपालको प्रदर्शनका क्रममा आगजनीका लागि रसायन प्रयोग भएको हुन सक्ने समाचार प्रकाशित गरेको थियो ।

सम्बन्धित समाचार