काेशीमा ठूलाे वर्षा नभए पनि बाढी र पहिराेकाे जाेखिम कायमै

6.5k Shares

काठमाण्डाै – गएरातिसम्म परेको ठूलो पानी बिस्तारै कम हुँदै गएको छ । काठमाण्डौ उपत्यका आसपासमा अहिले घाम लागेको छ । अस्ति शुक्रवार रातिदेखि गएरातिसम्म बागमती, मधेश र कोशी प्रदेशसहित देशका धेरैजसो ठाउँमा ठूलो पानी परेको थियो । अहिले भने पानी पर्न रोकिएको छ ।

ठूलो पानी पार्ने प्रणाली अब कोशी प्रदेशमा मात्रै केन्द्रित भएको छ । कोशीमा पानी पर्ने प्रणाली केन्द्रित भए पनि ठूलो वर्षाको भने भएको छैन । तर बाढी तथा पहिरोको जोखिम भने कायमै रहेको छ । कोशी प्रदेशमा अहिले खासै पानी नपरेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसअघि आज र भोलिसम्म नै ठूलो पानी पर्ने पूर्वानुमान गरिए पनि पानी पार्ने प्रणाली बिस्तारै कमजोर बन्दै गएको जल तथा मौसम विज्ञान विभागका मौसमविद् मीनकुमार अर्यालले जानकारी दिनुभयो । दिउँसोपछि यो प्रणाली बिस्तारै मत्थर हुँदै जाने उहाँको भनाइ छ । ठूलो पानी पर्ने सम्भावना नभए पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना भने कायमै रहेको मौसमविद अर्यालले बताउनुभयो ।

शुक्रवारदेखिको लगातारको वर्षा कोशी, मधेश र बागमती प्रदेशमा सबैभन्दा धेरै भएको छ । अहिले आठ वटा नदी केन्द्रमा जलसतह खतरा तहभन्दा माथि छ । जसमा बागमती, सुनकोशी, अरुण, तमोर, कन्काई, बुढी खोला, बिरिङ खोला लगायत नदीका बाढीमापन केन्द्र छन् । कोशी, मधेश र बागमती प्रदेशका अरू सबै नदीनालाहरूमा बहाव सतर्कता तह नजिक रहेको विभागले जनाएको छ ।

सम्बन्धित समाचार