काठमाडौँ, भदौ ३० गते । धन भएर मात्र हुँदैन, समाजसेवा गर्नका लागि मन पनि चाहिन्छ । यिनै मनकारीहरूको सक्रियता र पहलमा काठमाडौँ जिल्लाको तारकेश्वर नगरपालिका वडा नं. ११ मा जलेर ध्वस्त भएको ट्राफिक प्रहरी प्रभाग कार्यालय तयार भएर सञ्चालनमा आएको छ ।
भदौ २३ गते नयाँ बानेश्वरमा भएको जेन्जी समूहको प्रदर्शन घुसपैठ भएर हिंसामा परिणत भएपछि १७ युवाको निधन भयो, त्यसको आक्रोशमा भदौ २४ गते निस्किएको विरोध जुलुसमा सहभागी केही उच्छृङ्खल व्यक्तिले ट्राफिक कार्यालय जलाएर नष्ट गरिदिए ।
जनताकै सेवाका लागि स्थापना गरिएको कार्यालय जलाएर सुरक्षाकर्मीलाई विस्थापित गरेपछि स्थानीयवासीको मन रोयो । उहाँहरूले २५ गते नै आएर कार्यालय सफा गर्नुभयो । कार्यालय परिसरमा राखेका कम्तीमा ८० वटा मोटरसाइकल जले । तिनका अवशेषलाई पनि कुनामा थुपारियो ।
नयाँ वस्ती टोलसुुधार समितिको पहलमा कार्यालय सञ्चालनमा आएको छ । अहिले हेर्दा यो कार्यालय जलेको थियो भनेर कसैले भन्न नसक्ने गरी चिटिक्क पारिएको छ । बाहिरी निर्माण कार्य सकिए पनि भित्रको रङरोगन गर्ने, धारा जडान गर्ने कार्य जारी छ । यस कार्यको अगुवा गर्नेमा स्थानीयवासी राजकुमार लामिछाने, विश्वनाथ मुडभरी, तोरणबहादुर रिजाल, ध्रुव भट्ट, नारायण सापकोटा, वासु श्रेष्ठलगायत हुनुहुन्छ ।

उहाँहरूले दिएको जानकारी अनुसार, हामी स्वस्फूर्त श्रम दान गरेका छौं, किन्नुपर्ने समाचार किनेर ल्याएर जडान गरिएको छ, अब कम्युटरलगायत सामान व्यवस्थापन हुँदैछ । सुरक्षाकर्मीका लागि ग्यास, ग्यास चुलो, खानाका लागि चामल, लत्ता कपडा व्यवस्था गरिएको छ । अब सुरक्षाकर्मी कार्यालयमै बस्न थाल्नु भएको छ । जलेको भवनमा ढोका थिएन, झ्यालका सिसा थिएन, हेर्दा विरक्त लाग्दो थियो ।
हामीले नगद सङ्कलन गरेर एक लाख २२ हजारको आल्मुनियमका सामान किनेर ल्याएर जडान गरेको जानकारी पनि उहाँहरूले दिनुभयो ।
भदौ २४ गतेको घटना स्मरण गर्दै ट्राफिक प्रहरी प्रभाग, नेपालटारका कार्यालय प्रमुख नैनसिंह भाट भन्नुहुन्छ, ‘‘म जमलमा ड्युटीमा थिएँ, मलाई टेङ्गो वानबाट नेपालटारको हाम्रो कार्यालय पनि जलाउने खबर आयो, हाम्रो कार्यालय प्रमुखले सुरक्षित हुन निर्देशन दिनुभयो, म नेपालटारको कार्यालय पुगेँ । मेरो, साथीहरूको र अन्य सवारी साधन भित्रै थिए । जुलुसले आगो लगाउन थालेपछि हामी निस्क्यौं, मलाई बियरको बोतल बोकेका दुई जनाले एन.आर. कलेजसम्म लखेटे तर म जोगिन सफल भएँ । कार्यालयमा रहेका सबै सामान जले । हामीले लगाएका लुगाबाहेक अरू बचाउन सकिएन । त्यसपछि हामी डिएसपी कार्यालयमा गयौं ।’’
हामीसँग हतियार हुँदैन, हामी त जनताको सेवामा सडकमा बसेर काम गर्ने हो, तर पनि हाम्रो कार्यालय जलाइयो र हामीलाई विस्थापित गरियो, अर्का सुरक्षाकर्मीको भनाइ छ । अझै पनि आफ्नो परिचय दिन र खुलेर कुरा गर्न हिचकिचाउने सुरक्षाकर्मी सोमबार कार्यालयमै थिए ।

कार्यालय प्रमुख भट्ट र एक जना महिला ट्राफिक प्रहरी बर्दीमा देखिनु हुन्थ्यो भने अन्य सुरक्षाकर्मी सादा पोशाकमा देखिनु हुन्थ्यो । जलेका सवारी साधनको शेष हेर्दा कम्तीमा ८० वटा मोटरसाइकल जलेको पाइयो भने केहीले आफ्नो मोटर साइकल भन्दै आगलागी हुन थालेपछि झिकेर लगेको जानकारी पनि सुरक्षाकर्मीले दिएका छन् ।
कसरी यो सहयोग जुट्यो त भन्ने जिज्ञासामा प्रमुख भाटको भनाइ छ, ‘‘हामीलाई डिएसपी कार्यालयका प्रमुख एसएसपी नवराज अधिकारीले देशलाई दुःख परेको अवस्था छ, यस्तो अवस्थामा जनतालाई हामीले सेवा दिनैपर्छ, हामीसँग पोशाक नै नभए पनि हातमा सेतो पञ्जा लगाएर हुन्छ कि, सिट्टी मात्रै फुकेर हुन्छ, सेवा दिन जुट्नुस्, स्थानीयको सहयोग लिनुस, कार्यालय सफा गर्नुस् भन्ने निर्देशन भयो, त्यही अनुसार हामी कार्यालय फर्क्याैं । स्थानीयवासीको सहयोगले २७ गतेबाट सेवा दिन थाल्यौं र २८ बाट यहीँ बस्न थालेका छौं ।’’
स्थानीयवासीले पहिलाजस्तै कार्यालय तयार गरेर हामीलाई हस्तान्तरण गर्ने बचन दिनुभएको छ । यहाँ काम दु्रत गतिमा भइरहेकाले हामीलाई उत्साहित बनाएको छ, हामीले धुलो धुँवाको प्रवाह नगरी सडकमा बसेर उहाँहरूको सेवा गर्छौं, शायद त्यसैले होला स्थानीयवासीले माया गरेर कार्यालय सञ्चालनमा सहयोग गर्नुभएको छ, उहाँहरूप्रति हामी धेरै खुसी छौं, भाटले फिस्स हाँसोको मुस्कान दिँदै भन्नुभयो ।

ट्राफिक कार्यालयसँग रहेको तारकेश्वर नपाको वडा नं. ११ को कार्यालय जलेर धवस्त भएको छ, सरसफाइ गरिएको भए पनि नागरिकले सेवा पाउन सकेका छैनन् । नगरपालिकाले सूचना प्रकाशन गरेर सबै कार्यालयहरू जलेर नष्ट भएको जनाएको छ ।