उषाकिरणको आक्रोश– नानीहरूका हत्याराहरू एक मिनेट पनि सरकारमा बस्नु हुन्न

9.2k Shares

काठमाडौं– जेन–जी समूहले सोमबार गरेको आन्दोलनमा १९ जनाको मृत्यु भएको घटनापछि सत्तारूढ नेकपा एमालेकी केन्द्रीय सदस्य उषाकिरण तिमल्सिनाले सरकारप्रति कडा आपत्ति जनाएकी छिन् ।

उनले सामाजिक सञ्जालमार्फत सरकारलाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमाथि नै आक्रोश पोखेकी हुन् ।

‘अब यो पितृपुस्ताबाट हुन्न, विचारबाट च्यूत, जनताबाट तिरस्कृतहरूबाट हुन्न भनेर धेरै बोलियो । सालिन भाषामा बोलियो, धैर्यतापूर्वक बोलियो, ठूलो आवाजमा बोलियो, अहँ सुनेन, मसँग कुनै धैर्यता बाँकी छैन अब’, उनले भनेकी छिन् ।

तिमल्सिनाले आन्दोलनमा मारिएका युवाहरूलाई ‘नानीहरू’ भन्दै श्रद्धाञ्जली दिएकी छिन् । उनले आन्दोलनमा मारिएकाहरूको न्यायका लागि सरकारको तत्काल राजीनामा माग गरिन् । ‘हिजो सहादतहरूको न्यायका लागि पनि अब ती नानीहरूको ‘हत्याराहरू’ सरकारमा एक मिनेट पनि रहनु हुन्न,’ उनले भनिन् ।

सोमबार १९ जनाको ज्यान जाने गरि भएको आन्दोलनमा व्यापक दमन भएको विपक्षी दल र नागरिक समाजले आरोप लगाएका छन् । सरकारले भने सुरक्षाकर्मीको कारबाहीलाई औचित्यपूर्ण ठहर गर्दै स्थितिलाई नियन्त्रणमा ल्याउने उपाय भएको बताएको छ ।

सम्बन्धित समाचार