फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का स्ट्राइकर नेमार, मिडफिल्डर डि मारिया र लिएनार्दो पाराडेसलाई कोरोना भाइरस (कोभिड १९) को संक्रमण भएको छ। क्लबले बिहान सबै खेलाडीको कोरोना परीक्षण गर्दा तीन जनामा संक्रमण देखिएको हो ।
उनीहरु फुटबल सिजन सकिएपछि सँगै बिदा मनाउन स्पेनिस आइसल्याण्डमा गएका थिए। उनीहरुसँगै गएका एन्डर हेरेरा, माउरो इकार्डी र केलर नाभासको स्वास्थ्य अवस्थाबारे भने जानकारी आएको छैन ।
च्याम्पियन्स लिग फाइनलमा बायर्न म्युनिकसँग पराजित भएको केही दिनमा नै उनीहरु बिदा मनाउन गएका थिए। अहिले सेप्टेम्बर १० मा नयाँ सिजनको पहिलो खेल खेल्नुपर्ने पिएसजी समस्यामा पर्ने देखिएको छ । अहिले संक्रमण देखिएका खेलाडीहरु सेल्फ आइसोलेसनमा बसिरहेको र उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ। क्लबले तीन जना खेलाडीमा संक्रमण देखिएको पुष्टी गर्दै केही दिनभित्र बाँकी सबैको परीक्षण गर्ने जनाएको छ।