महेन्द्रनगर – नेकपा एमालेका महासचिव शंकर पोखरेलले अस्थिरताको रोग लागेकाहरूले सरकार ढल्ने हल्ला चलाउने गरेको बताएका छन् । उनले नेकपा एमाले र नेपाली कांग्रेसबीचमा उच्च स्तरको सहमतिसहित गठबन्धन बनेकोले अस्थिरताका रोगीहरू छट्पटिएको बताए ।
सोमबार प्रेस चौतारी नेपाल कञ्चनपुर समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले आगामी निर्वाचनसम्म नै यो सरकार निरन्तर रहने बताए ।
उनले यसका लागि संसद् र राजनीतिक दलहरूप्रति विश्वास गर्न समेत आग्रह गरेका छन् । महासचिव पोखरेलले सरकार आज ढल्छ, भोलि ढल्छ भन्दै हल्ला चलाउने अस्थिरताका लागि विचित्रको रोग लागेको बताए ।
‘दुई ठुला दल मिलेर सरकार बनेको छ, स्थिरता देखिएको छ,’ उनले भने, ‘तर अस्थिरताको रोग लागेकाहरू सरकार आज ढल्छ, भोली ढल्छ भन्दै हल्ला चलाइरहेका छन् । उनीहरू अस्थिरताका रोगी हुन् ।’