रवि लामिछानेलाई नक्खु कारागार सरुवा गर्ने निर्णय

7.6k Shares

काठमाडौं । रुपन्देहीको भैरहवा कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई ललितपुरको नक्खु कारागार सरुवा गर्ने निर्णय भएको छ। 

कारागार व्यवस्थापन विभागका महानिर्देशक लीलाप्रसाद शर्माले शुक्रबार लामिछानेलाई नक्खु कारागार सरुवा गर्ने निर्णय गरेको गृह मन्त्रालय स्रोतले जानाएको छ। लामो समयदेखि रोकिएको लामिछानेको कारागार सरुवाको निर्णय शर्माले विभागको जिम्मेवारी सम्हालेकै दिन गरेका हुन्।  

‘आज त्यसबारे निर्णय भएको छ। अब रुपन्देही कारागारले आवश्यक प्रक्रिया पूरा गरेर उहाँ (रवि)लाई नक्खु कारागारमा सरुवा गर्छ। उहाँले त्यहीँ माग गर्नुभएको रहेछ,’ स्रोतले भन्यो, ‘मन्जुरीनामा आएको धेरै दिन पनि भएको रहेनछ। एउटा कारागारबाट अर्को कारागारमा सरुवा हुने नियमित प्रक्रिया हो। विधि, प्रक्रिया, फाइल तयार पार्नुपर्ने हुन्छ। उहाँको सबै प्रक्रिया पुगेपछि आज त्यसैअनुसार निर्णय भयो।’

लामिछानेले सरुवा माग गर्दै अदालत र जिल्ला प्रशासन कार्यालयबाट पहिल्यै अनुमति पाइसकेका थिए। तर, गृहमन्त्री रमेश लेखकको निर्देशनमा कारागार व्यवस्थापन विभागले सरुवाको निर्णय रोकेको भन्दै आलोचना भएको थियो। 

गत साता राष्ट्रिय मानव अधिकार आयोगले रविलाई राखेको कारागारको निरीक्षण गर्दै सबै प्रक्रिया पूरा भएर पनि उनलाई कारागार सरुवा नगरिएको भन्दै ध्यानाकर्षण गराएको थियो। यही विषयमा छलफल गर्न आयोगले बिहीबार कारागार व्यवस्थापन विभागका निर्देशकलाई झिकाएको थियो। 

बिहीबार मात्रै प्रतिनिधि सभाको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा सांसदहरूको प्रश्नमा गृहमन्त्री लेखकले लामिछानेको कारागार सरुवाको विषयलाई गम्भीर रूपमा लिएको बताएका थिए। 

कारागार सरुवा विभिन्न कारणले गरिन्छ। बिरामी भएर सरुवा हुने कैदीबन्दीका लागि डाक्टरले सिफारिस गर्छन्। यस्ता कैदीबन्दी बसेको कारागारमा उपचारको राम्रो व्यवस्था नभएको अवस्थामा अर्को कारागारमा सरुवा गरिन्छ। बिरामी कैदीलाई प्रायः केन्द्रीय कारागार सुन्धारामा सरुवा गरिन्छ, जहाँ अस्पताल र विद्यालयको व्यवस्था छ। 

सम्बन्धित समाचार