प्रमुख सडकका १५० ठाउँमा बाढी र पहिरोको अवरोध, नौ ठाउँमा ठप्प

9.8k Shares

काठमाडौँ – चाडबाड सुरु भएसँगै यात्रुको चाप बढिरहँदा देशका प्रमुख राजमार्गका कम्तिमा १५० ठाउँमा बाढी-पहिरोको अवरोध भएको छ । यस्ता राष्ट्रिय राजमार्गका नौ ठाउँमा यातायात आवागमन नै ठप्प छ ।

सडक विभागले दिएको जानकारीअनुसार वैशाखयता ३७ राजमार्ग र सडकहरूमा यातायात अवरुद्ध भएकोमा अहिले पनि नौ स्थानमा आवागमन चलाउन सकिएको छैन ।

यसबीच यी राजमार्ग र सडकका ३२९ स्थानमा बाढी र पहिरोका कारण यातायात आवागमन बन्द भएको छ । ती मध्ये १७९ स्थानको अवरोध हटाएर यातायात सञ्‍चालनमा ल्याइएको छ । १४१ स्थानमा आवागमन एकतर्फी नै छ ।

हाल विभिन्न आठ राजमार्गका नौ स्थानमा भने सवारी आवागमन ठप्प नै छ । कम्तिमा तीनवटा पुलमा क्षति पुगेको छ ।


साउन १४ गते चीनको तिब्बतमा मुहान रहेको ल्हेन्दे खोलामा आएको विनाशकारी बाढीका कारण ठप्प गल्छी-त्रिशुली-वेत्रावती-मैलुङ-स्याफ्रुवेसी-रसुवागढी राजमार्ग अझै सञ्चालनमा आउन सकेको छैन ।

रसुवाको रसुवागढी, टिमुरे, तातोपानी र कुलुङमा सडक पूर्ण अवरुद्ध रहेको विभागले जानकारी दिएको छ । ढुङ्गा र पहिरो झरिरहेकाले म्याग्दीको रुप्सेमा तानसेन-रिडी-कोरला राजमार्ग अवरुद्ध छ ।

बाढीले बरुण नदीमा डाइभर्सन बगाउँदा कोशी राजमार्ग अन्तर्गत रानी-विराटनगर-इटहरी-धरान-धनकुटा-हिले र लेघुवाघाट-तुम्लिङ्गटार-खाँदवारी-नुम-किमाथाङ्का खण्ड पनि अवरुद्ध छ ।

ताप्लेजुङको फक्ताङलुङ वडा नं. ५ र ६ जोड्ने तमोर नदीमाथिको रानीपुल बेलीबृज साउन ४ गते चलेको बाढीले बगाएपछि तमोर करिडोर पनि अवरुद्ध अवस्थामा छ ।

पश्चिम रुकुमको चौखा खोला, रिचगाढ, उसुम खोला र छलगाढमा शाखा बाटो र खोलाबाट आएको लेदोसहितको बाढीका कारण भेरी कोरिडोरमा पनि सवारी आवागमन रोकिएको छ ।

सिन्धुपाल्चोकको कोदारीमा पनि सडक अवरुद्ध छ । तर, विभागले सडक अवरुद्ध हुनुको कारण खुलाएको छैन ।

पहिरो खसिरहेका कारण रोल्पाको पुतलाचौर ग्राम्जिममा पनि शहीद मार्ग १० दिनदेखि अवरुद्ध छ । बागलुङको कालीखोलामा ठूला चट्टानसहित पहिरो खस्दा कालीगण्डकी करिडोरमा पनि आवागमन रोकिएको छ ।

ढुङ्गामाटो र रुखसहित पहिरो खस्दा दैलेखको बाघदुलामा पनि सुर्खेत-जुम्ला सडक पनि आज अवरुद्ध अवस्थामा छ ।

बाढी र पहिरोका कारण अवरोध पुगेका सडक खुलाउन प्रयास भइरहेको विभागले जनाएको छ । केही सडक खुलाउन समयसीमा नै तोकेर काम अघि बढाएको विभागले बढी क्षति पुगेका सडक पुनःनिर्माणबारे भने कुनै समयतालिका सार्वजनिक गरेको छैन ।

सम्बन्धित समाचार