भौतिक पूर्वाधार मन्त्रालयको पूँजीगत खर्च ७५ प्रतिशत

8.6k Shares

मकवानपुरगढी, साउन १५ गते । बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले आर्थिक वर्ष २०८१–८२ मा भएका प्रगति विवरण सार्वजनिक गरेको छ । 

गत साउन ९ मा मन्त्रालयका मन्त्री अमनकुमार मास्केले मन्त्रालयको नेतृत्व गर्नुभएको १ वर्ष पूरा भएसँगै यो अवधिमा मन्त्रालयले गरेका मुख्य–मुख्य उपलब्धि र चालू आर्थिक वर्षको प्राथमिकता र कार्यदिशा मन्त्रालयले सार्वजनिक गरेको हो । 

गत आर्थिक वर्षमा मन्त्रालयले ७५.१ प्रतिशत पूँजीगत खर्च गरेको मन्त्रालयका मन्त्री अमनकुमार मास्केले जानकारी दिनुभयो । मन्त्रालयले विपद्बाट क्षति भएको संरचनाको अत्यावश्यक पुनरनिर्माणका लागि १५ करोड २५ लाख बजेट स्वीकृत गराइ पुनरनिर्माणको कार्य सुरु गरिएको उहाँले बताउनुभयो । 

विपद व्यवस्थापनमा अधिक समय खर्चिए पनि योजनाहरू प्रभावकारी ढंगले कार्यान्वयन भएको उहाँको दावी छ । विपद्मा क्षति भएका भौतिक संरचनाहरुको विवरण अध्यावधिक गरी पुनरनिर्माण र पुनस्र्थापनाका लागि नेपाल सरकार राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणमा बजेट व्यवस्थापनका लागि आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत करिब ५ अर्व ५० करोड बजेटसहितको विपद पुनःनिर्माण रुपरेखासहितको कार्ययोजना पेश गरिएको उहाँले बताउनुभयो । 

मन्त्रालयका अनुसार रुग्ण आयोजनाहरुको व्यवस्थापनतर्फ बिगतदेखि समस्याग्रस्त रहेको ५५ वटा आयोजनामध्ये २१ वटा आयोजनाहरू सम्पन्न भइसकेका छन् । ३४ आयोजना निर्माणमा क्रियाशील छन् ।  

यो अवधिमा विपदका बेला राष्ट्रिय लोकमार्ग अवरुद्ध हुँदा हेटौंडा–कुलेखानी–काठमाडौं लगायत ३ मार्ग छोटो समयमा पुनःसञ्चालनमा ल्याइएको छ । गत आर्थिक वर्षमा मन्त्रालयले ६०१.५७ किलोमिटर सडक स्तरोन्नति गरेको छ । 

यस अवधिमा ९०.४२ किलोमिटर नयाँ ट्रयाक निर्माण, १४८.९३ किलोमिटर सडक ग्राभेल स्तरीकरण, ७०३.६५ किलोमिटर सडक मर्मत सम्भार, १२१ वटा पुल÷कल्भर्ट निर्माण, ८ वटा सरकारी भवन निर्माण, ८ वटा जनता आवास कार्यक्रम आदि सम्पन्न गरेको छ ।

बागमति प्रदेशले पहिलो पटक बागमती प्रदेश भवन नीति २०८१ पारित गराइ जग्गा एकीकरण ऐन २०८१ को मस्यौदा तयार गरेको छ । प्रदेश सहरी नीति २०८२ मन्त्रिपरिषद्मा पेश गरेको छ । हेटौंडाको व्यवस्थित विकास योजनामा ग्रेटर हेटौंडा गुरुयोजना तयार पारिएको छ । 

सम्बन्धित समाचार