संसदीय दलकाे नेताकाे हैसियत गुमाएपछि लामा– ‘मुख्यमन्त्री पद छाड्दिनँ’

10.1k Shares

मकवानपुर – बागमती प्रदेश कांग्रेस संसदीय दलमा नेताका रूपमा रहनुभएका बहादुरसिंह लामाले विश्वास गुमाउनुभएकाे छ । आजकाे दलको बैठकमा भएको मत विभाजनमा उहाँको पक्षमा जम्मा १५ मत मात्रै पर्न पुग्यो भने विपक्षमा २२ जना सांसद उभिएका छन् ।

कांग्रेस सांसदहरूका अनुसार दलभित्र बहुमत सांसद लामाविरुद्ध उभिँदा उहाँ नेतृत्वबाट स्वतः हट्नुभएकाे हाे । संसदीय दलमा लामाविरुद्धको अविश्वास प्रस्ताव सफल भएपछि उहाँको सट्टामा प्रदेशसभा सदस्य एवम् नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँलाई नेतृत्वमा ल्याउने प्रयास तीव्र बनेको छ ।

संसदीय दलको नेताबाट विश्वास गुमाए पनि मुख्यमन्त्री पद भने नछाड्ने अडान बहादुरसिंह लामाले दोहोर्‍याउनुभएकाे छ । मत विभाजनमा पराजित भए पनि प्रदेश सरकारको नेतृत्व आफूसँगै रहने जिकिर गर्दै उहाँले भन्नुभयाे, ‘सरकार एउटा पाटो हो, संसदीय दल अर्को पाटो हो । मुख्यमन्त्री हुन दलको नेता हुनैपर्छ भन्ने छैन ।’

लामाले आजकाे घटनाक्रमबारे प्रतिक्रिया दिँदै आफूविरुद्ध पार्टीभित्रै षड्यन्त्र रचिएको गुनासो पनि गर्नुभयाे । उहाँले भन्नुभयाे, ‘सबैलाई मिलाएर अघि बढौँ भनेको थिएँ, तर विभिन्न किसिमका जालहरू रचिएको रहेछ । मेरै मन्त्रीहरू पनि त्यसको हिस्सा रहेछन् ।’

उहाँले पार्टीभित्रका नेताहरू लोकतान्त्रिक विधिबाट अघि बढ्नुपर्नेमा जोड दिँदै भोलिको प्रक्रियामा आफैँले सहभागिता जनाउने बताउनुभयाे । ‘लोकतान्त्रिक प्रक्रियामा जाने हो भने जाने हो । मत विभाजन प्रक्रियामा गइयो, त्यसमा मेरो पक्षमा १५ मत आयो, विपक्षमा २२ मत । म संसदीय दलको नेता अब रहिनँ, तर सरकारबाट हट्नुपर्ने आधार छैन’, लामाले भन्नुभयाे ।

कांग्रेसभित्रको यो आन्तरिक विभाजनसँगै बागमती प्रदेश सरकार नेतृत्वमा फेरबदलको सम्भावना बलियो बनेको छ । लामाले तत्काल राजीनामा नदिने अडान राखे पनि पार्टीभित्रैबाट बानियाँको पक्षमा २२ सांसद उभिएकाले नयाँ सरकार गठनको बाटो खुलेको छ ।

अबको सत्ता समीकरणदे के मोड लिन्छ भन्ने चासो र कांग्रेसभित्रको यो शक्ति सङ्घर्षले बागमती प्रदेशको राजनीतिक स्थितिमा महत्त्वपूर्ण मोड ल्याउने देखिएको छ ।

सम्बन्धित समाचार