काठमाडाैँ । सशस्त्र प्रहरी बल मुख्यालयले बेला बेलामा घुमुवा अपरेसन गरिरहेको हुन्छ । राजु अर्यालले संगठन प्रमुख भएपछि तराईका जिल्लामा परिचालित सयौं घुमुवाको अपरेसन चलाएका छन् ।
वर्षौं देखि तराईका जिल्लामा घुमुवा भएर असुली धन्दा चलाएका घुमुवाहरू प्रदेश कटान गर्ने गरी लखेटिएका थिए । तर अहिले फेरि धेरैजसो घुमुवा तराईका जिल्लामा आइसकेका छन् । कतिपय फेरि घुमुवा भएर असुलीमा सक्रिय भइसकेका छन् । कतिपय प्रहरी महानिरीक्षकको सचिवालयबाट भन्दै परिचालित छन् । यसरी परिचालितले रकम दिनेको सामान पक्राउ नगर्ने, स्थानीय सशस्त्र प्रहरी पनि मिलाइदिने र रकम नदिनेको छापा हान्ने जस्ता धन्दा पनि गरेका छन् । जुन कुरा धेरै सञ्चार माध्यमहरूमा आइसकेको छ । अहिले पनि यो धन्दा मधेस प्रदेशमा यथावत देखिएको छ ।
सशस्त्र प्रहरी बल धनुषा स्थित ८ नम्बर गणका एसपी निर्मल खड्काले मुख्यालयको नीति विपरीत घुमुवा परिचालन गरेको र ती घुमुवा आर्थिक संकलनमा लागेको भन्ने उजुरी परेपछि मुख्यालयले एसपी खड्काले परिचालन गरेका घुमुवाहरू मनोज यादव र अजय मण्डललाई छानबिनका लागि मुख्यालय तानेको छ । उनीहरूमाथि छानबिन भैरहेको थाहा भएको छ । त्यसैगरी महिनाथपुर स्थित प्रस्तावित गुल्मका डिएसपी सिताराम पौडेलले परिचालन गरेका घुमुवा धनन्जय यादवलाई पनि सशस्त्र मुख्यालयले छानबिनका लागि तानेको छ । यी घुमुवाहरूलाई छानबिनका लागि तानेको एक हप्ता मात्रै भएको छ ।
यति हुँदैहुँदा पनि एसपी निर्मल खड्काले फेरि लोक बहादुर कार्की नाम गरेका घुमुवा परिचालन गरेका छन् । आफ्ना दुई जना घुमुवा मुख्यालयले छानबिनका लागि तानेपछि पनि फेरि लोक बहादुर कार्कीलाई एसपी खड्काले घुमुवाको रूपमा परिचालन गरेका छन् । अब मुख्यालयले अर्को घुमुवा लोक बहादुर कार्कीलाई पनि छानबिनका लागि तान्छ कि तान्दैन, हेर्न बाँकी नै छ । एसपी खड्का यसअघि पर्सामा डिएसपी हुँदा पनि धेरै बदनाम भएका थिए ।