भारदह(सप्तरी), साउन ८ गते । सप्तरीमा पाँच दिन यता चार जना मृत फेला परेका छन् । पछिल्लो पटक राजगढ गाउँपालिका ५ मलेकपुर कामत टोलमा रहेको धान खेतमा बुधबार एक जना अन्दाजी ४५ वर्षीया एक पुरूष मृत फेला परेका हुन् ।
स्थानीय गुलाब सिंहको खेतमा मृत अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएका प्रहरीले कानुनी प्रक्रिया पुरा गरि अनुसन्धान भइरहेको सप्तरीका प्रहरी प्रवक्ता जितेन्द्र बस्नेतले जानकारी दिनुभएको छ । शवको पहिचान खुल्नसप्तरीमा नसकेपनि शव मुस्लिम समुदाय जस्तो देखिएको उहाँले बताउनुभयो ।
सोही गाउँपालिका ३ मा जिल्लाको विष्णुपुर गाउँपालिका १ खुरहुरियाका २१ वर्षीया जितेन्द्र यादव मंगलबार झुन्डिएको अवस्थामा मृत फेला परेका थिए । उहाँको शव ससुरालीमा झुन्डिएको अवस्थामा फेला परेको हो । शव शंकास्पद अवस्था भेटिएकोले शव पोष्टमार्टमका लागि धरान पठाएको र घटनाको बिषयमा थप अनुसन्धान भइरहेको प्रवक्ता बस्नेतले जानकारी दिनुभयो ।
मंगलबार जिल्लाको अग्नीसाई कृष्णाासवरण गाउँपालिका ३ मट्टिगढामा रामजानकी टोलमा स्थानीय बलराम चौधरीको २२ वर्षिय छोरा गोलु भन्ने कृष्ण कुमार चौधरी मृत फेला परेका थिए । यसैगरी राजविराज नगरपालिका ८ हिमालय टोलमा शनिबार झुन्डिएको अवस्थामा स्थानीय कृष्ण पोखरेलको घरमा डेला गरि वस्ने २९ वर्षिया ऋतु पौडेल आफ्नै कोठामा झुन्डिएको अवस्थामा फेला परेकी थिइन् ।
प्रहरीको सुक्ष्म अनुसन्धान गरेर दोषीलाई कारबाही नभएकैले जिल्लामा यस्ता घटनामा दिनदिनै वृद्धि हुँदै गएको स्थानीयले बताएका छन् । यस विषयमा प्रवक्ता बस्नेतले घटनाहरूको प्रहरीले सुक्ष्म अनुसन्धान गरिरहेको बताउनुभयो ।