काठमाण्डाै – नेपालमा पर्यटक आउने क्रम बढे पनि 'अकुपेन्सी रेट' अर्थात् होटलहरूको औसत क्षमता उपयोग घट्दै गएको सरकारी अध्ययनले देखाएको छ ।
आर्थिक वर्ष २०८१/८२ को साउनदेखि पुससम्ममा ५ लाख ७९ हजार ९ सय ४३ जना पर्यटकको आगमन भएको छ । अघिल्लो वर्षको त्यही अवधिमा ५ लाख ५९ हजार ७ सय ६९ जना पर्यटक आएका थिए ।
नेपाल राष्ट्र बैंकले गरेको अध्ययन अनुसार अघिल्लो आर्थिक वर्ष साउनदेखि पुससम्ममा 'अकुपेन्सी रेट' ४५ दशमलव ३० प्रतिशत रहेकोमा गएको आर्थिक वर्षमा ४३ दशमलव ९३ प्रतिशतमा झरेको छ ।
समीक्षा अवधिमा कोशी प्रदेशको होटलहरूको औसत क्षमता उपयोग सबैभन्दा धेरै ५९ दशमलव २८ प्रतिशत र सबैभन्दा कम लुम्बिनी प्रदेशको 'अकुपेन्सी रेट' ३१ दशमलव ९२ प्रतिशत रहेको छ ।
यस्तै राष्ट्र बैंकले आफ्नो अध्ययन प्रतिवेदनमा पछिल्लो समय चुनौतीहरू बढेको समेत निष्कर्ष निकालेको छ । प्रतिवेदनमा औद्योगिक क्षेत्र, विशेष आर्थिक क्षेत्र र औद्योगिक ग्रामको पूर्वाधार निर्माणलाई तीव्रता दिनु, स्वदेशी उत्पादनका लागि उचित बजारलगायत अन्य भौतिक पूर्वाधार उपलब्ध गराउनु चुनौती रहेको उल्लेख गरेको छ ।