काठमाण्डौ – ललितपुर महानगरपालिकाको चालू आर्थिक वर्ष २०८१/८२ को असार २५ गतेसम्मको कुल खर्च ६८ दशमलव १४ प्रतिशत पुगेको छ । सातौँ नगरसभाबाट पारित आउँदो आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम र बजेटका सम्बन्धमा आज आयोजित पत्रकार सम्मेलनमा महानगरले चालू आर्थिक वर्ष २०८१/८२ को वित्तीय प्रगति र आगामी वर्षको योजना तर्जुमा प्रक्रियाबारे जानकारी गराएको हो ।
तथ्याङ्क अनुसार पुँजीगत खर्च ६० दशमलव ६२ प्रतिशत र चालू खर्च ८५ दशमलव ३२ प्रतिशत रहेको छ । राजस्व सङ्कलन भने लक्ष्यको ७५ प्रतिशत हासिल भएको महानगरले जनाएको छ । लेखा परीक्षणमा बेरुजु ० दशमलव ५२ प्रतिशत मात्र देखिएको छ ।
महानगरले आफ्नो संस्थागत क्षमतामा पनि सुधार देखाएको छ । पालिका संस्थागत क्षमता स्वमूल्याङ्कनमा ९३ दशमलव ५ प्रतिशत अङ्क प्राप्त गरेको छ भने वित्तीय जोखिम मूल्याङ्कनमा ९९ दशमलव ५ प्रतिशत अङ्क हासिल गरेको छ ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगबाट गरिएको मूल्याङ्कनमा ललितपुर महानगरपालिकाले ७४ दशमलव ७१ प्रतिशत अङ्क पाएको जानकारी दिइएको छ । आउँदो आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम र बजेट तर्जुमाका लागि विभिन्न महत्त्वपूर्ण क्रियाकलापहरू सम्पन्न गरिएको महानगरले जनाएको छ ।