सुर्खेत । कर्णालीमा नेपाली कांग्रेसका सांसद बेदराज सिंह र प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)ले संसद् अवरुद्ध गरेका छन् ।
मंगलबार बसेको बैठकमा सुरुमा कांग्रेस सांसद सिंहले जाजरकोट भूकम्पपछि आपतकालीन अवस्थामा काम गरेका निर्माण व्यवसायीलाई सरकारले भुक्तानी दिन आलटाल गरेको भन्दै कर्णाली प्रदेश सभा बैठक अवरुद्ध गरे । उनी संसद्मा उभिरहे ।
त्यससँगै माओवादीका सांसद मंगलबहादुर शाहीले सहिद स्मृति भत्ता र युद्धका घाइते तथा अपाङ्गताहरूको जीवन निर्वाह भत्ताको विषयमा प्रश्न उठाए । तातोपानी गाउँपालिकामा उक्त रकम किन गएन भन्दै शाहीले आपत्ति जनाए ।
‘यो विषयमा मुख्यमन्त्रीको जवाफ नआएसम्म कांग्रेस सांसद जस्तै उभिरहनुपर्छ,’ उनले भने । लगत्तै प्रतिपक्ष दलका सांसदहरु सबै उभिए ।सभामुख नन्दा गुरुङले पटक–पटक बस्न आग्रह गर्दा पनि नबसेपछि १५ मिनेटका लागि बैठक स्थगित गरिन् ।