काठमाडौँ । नेकपा एमालेको प्रवासी सङ्गठनका नेता गमबहादुर गुरुङ पुरानै घर नेकपा (माओवादी केन्द्र) मा फर्किएका छन् । लामो समयदेखि बेल्जियममा बस्दै आएका बौद्धिक र इमानदार नेता गुरुङ आइतबारबाट नेकपा (माओवादी केन्द्र)मा फर्किएका हुन् ।
बेल्जियममा भएको कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का वैकल्पिक केन्द्रीय सदस्य सुरेन्द्र भुषाल लगायतका नेताहरूले गुरुङलाई स्वागत गरे । उनी माओवादीको पूर्व राज्य समितिको सचिवालय सदस्य र तत्कालीन समयमा आदिवासी जनजाती महासङ्घ युरोपको अध्यक्ष थिए ।
माओवादी र एमाले एक भएर नेकपा बनेपछि एकता भङ्ग हुँदा एमालेमा बसेका गुरुङले एमालेको राजनीतिक लाइन र नेतृत्व शैलीसँग तादाम्यता नमिलेपछि अहिले आएर पुनः आफ्नो घर (नेकपा–माओवादी केन्द्र) फर्किएको बताए । ‘म लामो समयदेखि माओवादीमा थिए बिचमा उता रहेँ अब फेरी पुरानै साथीसँग आफ्नै घर फर्केको छु ।’ माओवादीमा प्रवेश गरेपछि गुरुङले भने ।
कास्कीको सिक्लेस घर भएका गुरुङ बेल्जियमका सफल व्यवसायी र समाजसेवी समेत हुन् । माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्य सुरेन्द्र भुषालले बिचमा कतै अल्झिएका पुराना साथी गुरुङसँग फेरी पनि सँगै यात्रा गर्न पाएकोमा खुसी व्यक्त गरे । ‘आज धेरै नै खुसी लागेको छ हाम्रो पुरानो र इमानदार साथीसँग फेरी सँगै यात्रा गर्न पाएकोमा’ भुषालले भने ।
नेकपा (माओवादी केन्द्र) पश्चिम अन्तर महादेशीय प्रवास प्रदेश सङ्गठन समितिका संयोजक उदयराज गौतमले गुरुङलाई सचिवालय सदस्यको जिम्मेवारी प्रदान गरिएको जानकारी दिए । ‘कमरेड गमबहादुर जीलाई स्वागत छ, पार्टी केन्द्रबाट उहाँलाई हाम्रो प्रदेश समितिको सचिवालय सदस्यको जिम्मेवारी प्रदान गरिएको सर्कुलर प्राप्त भएको छ’ गौतमले भने ।
सो स्वागत कार्यक्रममा पश्चिम अन्तर महादेशीय प्रवास प्रदेश सङ्गठन समितिमा रहेका बेल्जियममा नेताहरू, नेपाली जन प्रगतिशील मञ्च युरोपका अध्यक्ष चित्र सुवेदी, एनआरएनएका उपाध्यक्ष लोक दाहाल लगायतको उपस्थिति रहेको थियो ।
नेपाली जन प्रगतिशील मञ्च बेल्जियमका अध्यक्ष मनिष गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव सुशिला खतिवडाले गरेकी थिइन् ।